कोरोना भाइरसको जोखिम : चीनले अपनाएको उच्च सतर्कता नै नेपालकाे भरोसा

 फागुन १३, २०७६ मंगलबार ६:५८:३९ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै – धादिङ सल्यानटारका विष्णुबहादुर दराई आइतबार ओमानबाट नेपाल फर्किनुभयो । दिउँसो १ बजे झिटिगुण्टासहित त्रिभुवन विमानस्थलमा भेटिनुभएका उहाँलाई कति बेला घर पुगौँ भन्ने हतारो थियो ।

मोबाइलबाट आफन्तलाई फोन गरिरहनुभएका उहाँले भन्नुभयो, ‘सरकारले विमानस्थलमा जाँचको व्यवस्था गरेको छ भनेको सुनिन्थ्यो, तर भित्र केही जाँच भएजस्तो लागेन ।’ छेवैमा रहेका ट्याक्सी चालकले उहाँकै कुराका थपे, ‘हामी त झन् त्रासमा छौँ । नेपाली, चिनियाँसहित विभिन्न देशबाट आउनेहरुलाई दिनहुँ बोक्नुपर्छ, नबोकि सुखै छैन ।’ 

विमानस्थलमै भेटिनुभएका खोटाङ दिक्तेलका खड्कबहादुर नेपालीले पनि विमानस्थलमा सरकारले व्यवस्था गरेअनुसार यात्रुको जाँच नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आउनेहरुको जाँच त के हुनु ? झोला चाहिँ खोतलेर झुत्रै बनाउँछन् ।’ 

अस्ट्रेलियाबाट काठमाण्डौ आउनुभएकी जिना क्षेत्रीले पनि उताको विमानस्थलमा जाँच भए पनि नेपालमा जाँच नभएको बताउनुभयो ।

पहिलो पटक चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म २८ देशमा फैलिसकेको छ । दक्षिण कोरिया, अस्ट्रेलिया, मलेसिया लगायतका देशहरु विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सङ्क्रमण फैलिएका देशका रुपमा निकालेको सूचीमा पनि छन् । नेपालीहरु समेत रहेका यी देशमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चीन बाहिर पनि ज्यान गुमाउनेहरु थपिँदै गएका छन् । कोरोना भाइरसको उपचार र नियन्त्रणका लागि चीनले प्रयास गरिरहेको छ । नेपालमा पनि कोरोना सङ्क्रमण जोखिमको सम्भावना कायमै छ ।

जोखिम हटाउन विमानस्थलमा कडाइका साथ जाँच गर्नुपर्छ । सरकारले दक्षिण कोरियाबाट आउनेहरुको जाँचलाई कडाइ गर्ने बताएको छ ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार अहिले दैनिक ४० वटासम्म अन्तर्राष्ट्रिय उडान र अवतरण हुन्छ । एक उडानमा औसतमा दुई सय यात्रुले यात्रा गर्दा दैनिक आठ हजारको सङ्ख्यामा यात्रु ओहोरदोहोर गर्छन् । चीनमा उडान खासै नभएको उहाँको भनाइ छ । कहिलेकाहीँ उडान भए पनि यात्रु निकै कम छन् । यताबाट नगएपछि उताबाट यात्रु आउने क्रम पनि स्वतः घटेको छ ।

बाहिरबाट जहाज चढेर विमानस्थल ओर्लनेहरुमा सङ्क्रमण छ या छैन अरुलाई पत्तो हुँदैन । रुघाखोकी लाग्नु, घाँटी दुख्नु, अत्यधिक ज्वरो आउनु, श्वासप्रश्वासमा समस्या हुनु नै कोरोना भाइरसका लक्षणहरु हुन् । शङ्काका भरमा आफै अस्पताल पुगे मात्रै थाहा हुन्छ । देशभित्र रहेका या बाहिरबाट आएका जोसुकै भए पनि रुघाखोकी तथा ज्वरो आए आत्तिनु नपर्ने तर बेलैमा स्वास्थ्य जाँच गराउन डाक्टरहरुले सल्लाह दिँदै आएका छन् ।

डाक्टर विष्णुभक्त कवाँका अनुसार अहिले मौसमी फ्लुकाे सङ्क्रमण हुने समय हो । उहाँका अनुसार रुघाखोकी लाग्दैमा आत्तिहाल्नु पर्दैन तर जाँच भने गराउनुपर्छ ।

सङ्क्रमण फैलिएका देशहरुबाट स्वदेश फर्कने र पर्यटकहरुबाट कोरोना भाइरस भित्रन नदिन विमानस्थलमा कडाइ गरेको सरकारको दाबी छ । सरकारले चीनसँगका नाका बन्द गरेकाे छ, अनि आवतजावत छैन भन्दै आएको छ । मुख्य नाकामा हेल्थ डेक्स पनि राखेको सरकारले बताएको छ । सङ्क्रमणविरुद्धको तयारी र त्रिभुवन विमानस्थलमा विश्वस्तरीय मापदण्डअनुसार नै हेल्थ डेक्स राखेर जाँच भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताउनुभयो । उहाँले चीनबाट आउने यात्रुलाई मुख्य निगरानीमा राखेर जाँच गर्ने गरिएको समेत जानकारी दिनुभयो । 

अहिले सङ्क्रमण चीनमा मात्र छैन, त्यसैले अरु देशबाट आउनेहरुको पनि निगरानी आवश्यक छ । तर विमानस्थलमा सरकारले भनेजस्तो जाँच नभएको यात्रुहरुको भनाइ छ ।

विमानस्थलबाट सहजै बाहिरिनेहरुमा भोलि सङ्क्रमण देखिए अवस्था के होला अनुमान गर्न सकिँदैन । यात्रुहरुको स्वास्थ्य जाँचसहित पूर्ण विवरण राखिएको छैन । नेपाल भित्रने नाकामा पनि निगरानी पर्याप्त छैन । भारतसँग खुला सीमा पनि समस्या नै छ । अनि सङ्क्रमण देखा परे उपचारका लागि सबैतिर उपकरण र प्रविधि छैन । किनभने केन्द्रीय प्रयोगशालामा सङ्क्रमण प्रमाणित गर्नुपर्ने बाध्यता छ । प्रयोगशालामा जाँच गरी रिपोर्ट आउन लाग्ने समयले अरुमा फैलने सम्भावना उत्तिकै हुन्छ । चीनमा जस्तो १० दिनमै अस्पताल बनाउने नेपालको क्षमता पनि छैन ।

डाक्टर दिक्षित भन्नुहुन्छ– चीनको सर्तकता नै नेपालको भरोसा

छिमेकी चीनले सङ्क्रमण फैलन नदिन अपनाएको उच्च सतर्कता नै नेपालकाे भरोसा भएकाे डाक्टर सुन्दरमणि दिक्षित बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘स्वास्थ्य चेतना र परामर्शले मात्रै नेपालमा भाइरस भित्रिँदैन भन्न सकिने अवस्था छैन ।’ 

सरकारको टालटुले व्यवस्थापन र तयारीले ढुक्क नभइ हरेक व्यक्ति तथा समुदाय नै चनाखो हुनुपर्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

1 Comments

  • Yubaraj mahatara

    Feb. 25, 2020, 10:15 a.m.

    I wanted to news

  •  0 Reply

तपाईको प्रतिक्रिया