१४ जिल्लाका कृषकहरु गुल्मीको कफी अनुसन्धानमा

 फागुन १३, २०७६ मंगलबार ९:३२:२४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको भण्डारीडाँडामा कफी नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत कफी अनुसन्धान कार्यक्रमको लागि सात दिने आवसीय तालिम सुरु भएको हो । 

कृषिमा व्यावसायीकीकरणका लागि कफी खेतीलाई विस्तार र आम्दानीमा वृद्धि गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका संयोजक कृष्णबहादुर थापाले बताउनुभयो । 

सात दिने आवासीय तालिमको उद्घाटन गर्दै प्रदेश ५ का प्रदेश सभा सदस्य एवं विशेषाधिकार समिति सभापति कमलराज श्रेष्ठले नेपालमा कफी खेतीको प्रचुर सम्भावना भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको बताउनुभयो । उहाँले कफीलाई निर्वाहमुखी मात्र नभइ व्यावसायिकमुखी बनाउँदै लैजान सके देशको अर्थतन्त्रमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले पालिकाले कफी उत्पादक किसानका लागि अनुदानको व्यवस्था गरी कफी खेतीमा लाग्न प्रोत्साहित गरेको जानकारी गराउनुभयो । 

कफी विशेषज्ञहरुले कफी खेतीलाई कसरी व्यवस्थित रुपमा अघि बढाउने, नर्सरी स्थापना कसरी गर्ने, बगैँचा निर्माण, बिउ र माउबोट छनोट, बिउ सङ्कलन, ब्याड तयारी, कफीमा लाग्ने रोग, किराहरुको चिनारी, कफी सङ्कलन, प्रशोधन र बजारीकरण लगायतका विषयमा सैद्धान्तिक एवं प्रयोगात्मक रुपमा तालिम उपलब्ध गराउने छन् । 

तालिममा सहभागिताका लागि बाह्य अनुसन्धान महाशाखा खुमलटारले गोरखापत्र र परिषद्को वेबसाइटमार्फत आवेदन माग गरेको थियो । प्राप्त आवेदनहरु मध्येबाट मूल्याङ्कनका आधारमा १४ जिल्लाका २५ जना कफी कृषक तालिममा सहभागी भएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रविधिक अधिकृत समशेर बस्नेतले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया