काेराेना : सम्भावित 'महामारी' विरुद्ध तयार रहन विश्व स्वास्थ्य सङ्गठनकाे आग्रह

 फागुन १३, २०७६ मंगलबार ९:४९:३ | एजेन्सी
unn.prixa.net

काेराेना – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ अर्थात् नोबेल कोरोना भाइरसकाे सङ्क्रमणकाे सम्भावित 'महामारी' विरुद्ध लड्न तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरसले महामारीको रुप लिन सक्ने भएकाले सङ्क्रमणविरुद्ध लड्न तयारी अवस्थामा रहन डब्लूएचओले आग्रह गरेको हो । तर डब्लूएचओले अहिले नै कोरोनाको सङ्क्रमणलाई विश्वव्यापी महामारी भन्न नमिल्ने बताएको बीबीसीले जनाएको छ ।

विश्वका धेरै क्षेत्रमा सङ्क्रमण सहज रुपमा एक व्यक्तिबाट अर्कोमा सर्न थालेपछिको अवस्थालाई विश्वव्यापी महामारी भन्ने गरिन्छ ।

अहिलेसम्म कोरोना भाइरसका कारण चीनसहितका देशमा दुई हजार ६ सय ९८ जनाको ज्यान गइसकेको छ भने ८० हजारभन्दा धेरै मानिसमा सङ्क्रमण भएकाे पुष्टि भएको छ ।

यस्तै कोरोनाका कारण चीनबाहिर ३० देशमा २० जनाको ज्यान गएको छ । एक हजार दुई सय जनाभन्दा धेरैमा सङ्क्रमण भएको पुष्टि भएको छ । कोरोनाका कारण सबैभन्दा धेरै दक्षिण कोरियामा आठ जनाको ज्यान गएको छ भने आठ सय ३० जनामा कोरोना भएको पुष्टि भएको छ ।

यस्तै इटलीमा सात जनाको ज्यान गएको छ भने दुई सय २९ जनामा सङ्क्रमण भएको पाइएको छ ।

साेमबार इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा पनि कोरोना सङ्क्रमित भेटिएपछि डब्लूएचओले कोरोना भाइरसको सङ्क्रमणकाे सम्भावित महामारीविरुद्ध लड्न तयारी अवस्थामा रहन आग्रह गरेको हो ।

रुघाखोकीसँगै उच्च ज्वरो आउनु र श्वास फेर्न गाह्राे हुनु कोरोना भाइरसको लक्षण हो । बारम्बार साबुनपानीले हात धुने, सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा नबस्ने, आँखा, नाक र मुख छोइसकेपछि हात धोइहाल्ने गरेमा कोरोना सङ्क्रमण फैलन कम हुने डब्लूएचओको विश्वास छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया