वायु प्रदूषण र बच्ने उपाय

 फागुन १४, २०७६ बुधबार १७:४०:३६ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डाै - वायु प्रदूषणको बढ्दो मात्राले नेपालका विभिन्न सहर बसोबासका लागि अयोग्य हुँदै गएकाे तथ्याङक सार्वजनिक भएका छन् ।

गाडीको धुवाँ, इँटाभट्टालगायतका उद्योगको प्रदूषण, आगो बाल्दा निस्कने धुवाँ, निर्माणका बेला सावधानी नअपनाउनुलगायतका कारणले हावामा प्रदूषणको मात्रा बढिरहेको छ । जसका कारण केही सहर बसोवासका लागि अयोग्य भएको वातावरण विभागले जनाएको छ ।

श्व स्वास्थ्य सङ्गठनले बसोवासका लागि हावामा प्रदूषणको मात्रा अक्वा २५ तोकेको छ भने अक्वा ४० सम्म बसोवासयोग्य हुने बताएको छ । तर अहिले बारा जिल्लाको सिमराको अक्वा १ सय ८९ पुगेको छ । यस्तै, सुनसरी जिल्लाको झुम्काको १ सय ७३, ललितपुरको पुल्चोकमा १ सय ५६ र ललितपुरकै भैंसेपाटीको अक्वा १ सय ५२ रहेको वातावरण विभागले जनाएको छ । 

यस्तै, काठमाण्डौको रत्नपार्क र झापाको दमकको अक्वा १ सय ३९ पुगेको छ । मानवीय गतिविधिका कारण हावामा प्रदूषणको मात्रा बढिरहेकोले प्रदूषण कम गर्न दैनिक क्रियाकलापमै सुधार गर्नुपर्ने वातारण विभागका उपनिर्देशक इन्दुविक्रम जोशीले बताउनुभयो । उहाँले सकेसम्म कम आगो बाल्न, गाडीमा प्रदूषणको अवस्था जाँच गरी मर्मत गर्न र उद्योगमा प्रदूषण कम गराउने प्रविधि जडान गर्न सुझाव दिनुभयो । 

हावामा प्रदूषणको मात्रा धेरै हुँदा मुटु, फोक्सो तथा रगतमा असर गरी विभिन्न किसिमका रोगहरु लाग्ने मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले जानकारी दिनुभयो । सकेसम्म प्रदूषण भएको ठाउँमा हिड्डुल गर्न नहुने र बाहिर निस्कँदा मास्क लगाउनुपर्ने डाक्टर भट्टराईको भनाइ छ । 

वायु प्रदूषण बढ्ने कारण 

-पेट्रोलियम पदार्थबाट चल्ने गाडीले उत्पादन गरेको धुवाँले 
-विकास निर्माणका कार्यबाट उत्पादन भैरहेको धुलोले
-फोहोर र कृषिजन्य पदार्थ जलाउँदा निस्कने धुवाँले
-इँट्टाभट्टाबाट निस्कने धुवाँले

वायु प्रदूषणले गर्ने असर 

१. तत्काल पार्ने असर 
-छाला चिलाउने
-आँखा चिलाउने 
-खोकी लाग्ने
-हाच्छिउँ आउने 
-छाती घ्यारघ्यार हुने 
-श्वास फेर्न गाह्रो हुने 

२. दीर्घकालीन असर 

-श्वासप्रश्वास र रक्तनलीमा समस्या हुने  
-लामो समयसम्म दमको समस्या हुने 
-फोक्सोको क्यान्सर हुने सक्ने  
-रक्तनलीमा असर गर्न सक्ने  
-रगत जम्ने समस्या निम्त्याउन सक्ने 
-मुटु रोग र हृदयाघात हुन सक्ने
-क्यान्सर र मस्तिष्क घात हुन सक्ने 

वायु प्रदूषणबाट बच्ने उपाय

-घरबाहिर निस्कने बित्तिकै मास्क लगाउने 
-बिहान र बेलुका मर्निङवाक र इभिनिङवाक नगर्ने 
-मानवबस्ती वरिपरि प्लाष्टिक तथा धुँवाजन्य निस्किने वस्तु नजलाउने 
-पुराना वा धेरै धुँवा निकाल्ने सवारी साधन प्रतिबन्धित गर्ने 
-उद्योगधन्दा र कलकारखाना मानवबस्तीबाट टाढा राख्ने 
-सडक, गल्ली, नदी, खोला, ताल र पोखरीमा फोहोर नफाल्ने 
-ढल निकासको उचित व्यवस्था गर्ने 
 

अन्तिम अपडेट: चैत १२, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया