गुल्मीको बाँझकटेरीमा प्याराग्लाइडिङ्गको परीक्षण उडान सफल

 फागुन १४, २०७६ बुधबार १९:१२:३७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको मदाने गाउँपालिका-२ मा रहेकाे बाँझकटेरीको कसुरे डाँडाबाट प्याराग्लाइडिङ्गको परीक्षण उडान सफल भएको छ । स्काइबर्ड प्याराग्लाइडिङ्ग पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ्ग उडाएर सफल परीक्षण गरेका हुन् । 

प्याराग्लाइडिङ्ग चालकहरुलाई पूर्वसामाजिक विकास मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले फुलमाला लगाएर सफलताको शुभकामना दिनुभएको थियो ।

मदाने गाउँपालिकाले होलबाङ्ग प्याराग्लाइडिङ्ग सम्भाव्यता अध्ययनका लागि आर्थिक वर्ष ०७६-०७७ मा दुई लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताउनु भयो ।

समुन्द्री सतहबाट २१ सय ५० मिटरको उचाईमा रहेको बाँझकटेरीको कसुरे डाँडा प्याराग्लाइडिङ्गको हिसाबले अत्यन्तै राम्रो रहेको स्काइबर्ड प्याराग्लाइडिङ्ग पोखराका चालक भुवन गाहाले बताउनु भयो ।

लामो दूरीको लागि खर्च बढी लाग्ने भएका कारण पनि छोटो दूरीको प्याराग्लाइडिङ्ग गर्न याे ठाउँ निकै महत्वपूर्ण रहेको उहाँले बताउनु भयो । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणको कारण प्याराग्लाइडिङ्ग विस्थापित हुने अवस्था रहेको भन्दै उहाँले भविष्यमा गुल्मीलाई प्याराग्लाइडिङ्गको हबको रुपमा विकास गर्न सकिने प्रचुर समेभावना रहेको दावी गर्नुभयो ।

परीक्षणको क्रममा बुधबार कसुरे पुगेका पूर्वमन्त्री तथा सांसद गोकर्ण बिष्टले विकटलाई निकट बनाउने यो संभावना मर्न नदिने भन्दै त्यसका लागि नियमित प्याराग्लाइडिङ्गको लागि आवश्यक भौतिक संरचना निर्माण र अन्य आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनु भयो । उहाँले अग्लुङ्गबाट कसुरेहुँदै सिमलटारीसम्म पुग्ने सडकको स्तरवृद्धिसंगै कालो पत्रेको काम अगाडि बढेकाे बताउँदै यसले कसुरेको प्याराग्लाइडिङ्गलाई थप टेवा पुग्ने दावी गर्नुभयो । 

मदाने गाउँपालिका प्रमुख दान बहादुर केसीले व्ययवसायीक रुपमा प्याराग्लाइडिङ्ग अगाडि बढाउने बिषयमा आफूहरु सक्रिय रुपमा लाग्ने भन्दै पालिकासम्म आइपुग्ने सडक निर्माणसँगै होलबाङ्गमा होमस्टे निर्माण गर्न गाउँपालिकाले योजना बनाउने जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया