नेपालकाे आर्थिक विकासका लागि यूरोपियन युनियनले नयाँ परियोजना कार्यान्वयनमा ल्याउने

 फागुन १५, २०७६ बिहिबार १४:५२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालको आर्थिक विकासका लागि क्षेत्रीय तथा विश्वव्यापी मूल्य श्रृङ्खलामा सुधार ल्याउन यूरोपियन युनियनले नयाँ परियोजना कार्यान्वयनमा ल्याउने भएको छ ।

बिहीबार काठमाण्डौमा एक कार्यक्रमकाे आयोजना गरी अन्तर्राष्ट्रिय व्यापार केन्द्रले परियोजना कार्यान्वयन गर्ने गरी युरोपियन युनियनले नेपालको पश्मिना र कफी उत्पादनको क्षेत्रमा लगानी गर्ने जनाएको हो । कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा कार्यान्वयनमा आउने भएको छ ।

परियोजनाको लगानी ८ मिलियन युरो बराबरको हुनेछ जसमध्ये अन्तर्राष्ट्रिय व्यापार केन्द्रले ५ मिलियन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपालमा रहेकाे युरोपियन युनियनको कार्यालयले संयुक्त रुपमा ३ मिलियन खर्च गर्नेछन् ।

कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कफी र पश्मिनाको उत्पादन बढाउने र अन्तर्राष्ट्रिय बजारमा व्यापार अभिवृद्धि गर्नका लागि उक्त सहयोग महत्वपूर्ण हुने बताउनुभयो । उहाँले परियोजनाले कुनैपनि व्यक्तिले उत्पादन गरेको वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजाने वातावरण निर्माण गर्ने समेत बताउनुभयो ।

आयोजनाले क्षेत्रीय र विश्वव्यापी मूल्य श्रृङ्खलामा नेपाली उद्यामीहरुको सहभागिता बढाउने लक्ष्यसमेत लिएको छ । त्यस्तै यो परियोजनाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा निर्यात प्रवर्द्धन केन्द्रको क्षमता अभिवृद्धि गर्नुका साथै व्यापार नीतिहरुमा सुधार गर्ने र व्यापार सम्झौताको कार्यान्वयनमा जोड दिनेछ ।

त्यस्तै एक व्यापार सुविधा र निर्यात नीतिको विकास गर्ने छ भने कफी तथा पश्मिना उत्पादन गर्ने साना किसानहरुलाई बजारमा जोडने र यसको मूल्य श्रृङ्खलामा क्षमता अभिवृद्धि गर्नमा जोड दिनेछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया