'केक काटेर खान मन लागे अरु दिन पनि छन् तर जन्मदिनमा बत्ती बाल्नुस्' : अष्टलक्ष्मी शाक्य

 फागुन १६, २०७६ शुक्रबार ६:५०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले केक काटेर जन्मदिन मनाउने नेपाली संस्कृति नभएको बताउनुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सा राखेर केक काटेको प्रसङ्गमा शाक्यले जन्मदिन मनाउने परम्परा नेपाली समाजमा भए पनि केक काटेर मनाउने कुरा अहिलेसम्म आफूलाई थाहा नभएको बताउनुभयो । नेकपाको वाग्मती प्रदेशस्तरीय प्रशिक्षण भेलामा उहाँले जन्मदिनमा केक काट्नुको सट्टा बत्ती बालेर उज्यालो भविष्यको कामना गर्नु नेपाली संस्कृति भएको बताउनुभयो ।

‘केक काटेर जन्मदिन मनाउने चलन हाम्रो संस्कृति होइन । होइन कामरेड यो । त्यसमा पनि नेपालको नक्सा बनाएर आमालाई चिराचिरा पार्ने काम कहाँबाट आयो । नेपाल भनेको आमा हो । मैले यतिमात्रै भन्न चाहे’, उहाँले भन्नुभयाे ।  

केक काटेर खान मन लागे अन्य दिनमा पनि काटेर खान मिल्ने तर जन्मदिन बत्ती बालेर र केक काटेर नमनाउन पनि उहाँले आग्रह गर्नुभयो । ‘तपाईँलाई मन लागेको छ भने काटेर खानुहोला तर जन्मदिनमा केक नकाट्नुहोला । बत्ती ननिभाइ दिनुहोला । बत्ती बाल्दिनु होला ! उज्यालोको भविष्यका लागि हो त्यो । जन्मदिन भनेको एक स्टेप पाको भयौँ, उज्यालौँ भयौँ, प्रगति गर्‍याैँ भनेर देखाउने कुरा हो । त्यसैले जन्मदिनमा केक काटेर होइन बत्ती बालेर उज्यालोको खोजी गरौँ, प्रगतिको खोजी गरौँ', शाक्यले भन्नुभयाे । 

व्यक्ति जो सुकै भए पनि नेपाली संस्कार र सोचहरु सामन्ती चिन्तन र गलत ढङ्गबाट विकसित भएको उहाँले बताउनुभयो । उहाँले सत्तामा पुगेपछि जनताको चाहाना पूरा गर्नै पर्ने बताउनुभयो । जनताको भावना आत्मसात् गर्न नसके सत्तामा बसेर नेतृत्व गरेको अर्थ के ? भन्दै उहाँले प्रश्न गर्नुभयो । सामन्ती व्यवस्था, राजतन्त्र ढालेर गणतन्त्र आए पनि सोच, कार्यशैली र व्यवहार सामन्ती चिन्तन र सामन्ती अवशेषबाट ग्रसित रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘किन परिवर्तन हुन सकेनौँ । किन गणतन्त्रको नेता बन्न सकिएको छैन । किन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा इमानदार नेता बन्न सकिएको छैन । यसो भन्दा धेरे भनेजस्तो लाग्छ भन्नुपर्ने अवस्था पनि आएको छ । धेरैलाई पीडा भएको हुनाले मैले अभिव्यक्त गरिरहेको छु ।’ उहाँले सामन्ती राजतन्त्रलाई ढालेर नेतृत्वमा आएपछि सामन्ती चिन्तन खोजेर निर्मूल गर्ने कि नगर्ने ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सांस्कृृति विचलन सुरु भएको छ । नैतिक धरातल कमजोर भएको छ । हाम्रो नैतिक धरालत कमजोर भएको छ ।’ उहाँले सत्तामा बसेर अनेक चलखेल गर्ने काम भएको भन्दै आपत्ती समेत जनाउनुभएको छ । ‘सत्तामा बसेर अनेकौँ चलखेल गर्ने कामतिर हामी लाग्छौँ । लेनदेनको चलखेलभित्र लाग्छौँ । किन यस्तो भइरहेको छ । बुझ्न सकिएको छैन । जनताले यस्तो चाहेको होइन’, उहाँले थप्नुभयाे । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया