फिल्मदेखि टाढा रहेका शाहरुखलाई अर्को करियर रोज्न श्रीमतीको सुझाव

 फागुन १८, २०७६ आइतबार २०:५०:४९ | जुनू भण्डारी
unn.prixa.net

काठमाण्डौ - बलिउड अभिनेता शाहरुख खान अभिनयका कारण जति चर्चामा छन्, उनको सेन्स अफ ह्यूमरको पनि त्यतिकै चर्चा हुने गर्छ । तर हालै शाहरुख खानकी श्रीमति गौरी खानले पनि सेन्स अफ ह्यूमरको परिचय दिएकी छिन् । 

पछिल्लो समयमा एक पछि अर्को फ्लप फिल्म दिएका शाहरुख खान विश्राममा छन् । लगातार असफलता भाेगेपछि अब भने शाहरुख आफ्ना आगामी फिल्महरुमा कुनै पनि किसिमको सम्झौता गर्न चाहदैनन् । तसर्थ उनी यतिबेला ब्रेक लिएर उत्कृष्ट स्क्रिप्टको खोजीमा छन् । 

लामो समयदेखि फिल्ममा नदेखिएका शाहरुखलाई दर्शकहरु पर्दामा हेर्न आतुर छन्। तर शाहरुख खान भने नयाँ फिल्मको घोषणा गर्न समय लगाइरहेका छन् । यसैबीच शाहरुख खानकी श्रीमती गौरी खानले भने शाहरुख खानलाई फिल्म बाहेक अर्को करियर रोज्न सुझाव दिएकी छिन् ।

गौरी खानले मुम्बईमा आफ्नो डिजाइनर स्टोरमा बलिउड कलाकार तथा नजिकका साथीहरुको लागि पार्टीको आयोजना गरेकी थिइन् । सोही पार्टीमा मिडियासँगको कुराकानीमा गौरीले श्रीमान शाहरुखको डिजाइनिङ सेन्स धेरै राम्रो रहेको बताइन् । 

शाहरुखले घरको इन्टेरियरमा कैयौँ परिवर्तन गरेको, जुन निकै उत्कृष्ट रहेको बताइन् । गौरीले रमाइलाे गदै भनिन्, ‘शाहरुख यतिबेला कुनै पनि फिल्ममा काम गरिरहेका छैनन्, तसर्थ म उनलाई दोस्रो विकल्पमा डिजाइनिङलाई राख्न सल्लाह दिन्छु । किनकि उनी एक उत्कृष्ट डिजाइनर बन्न सक्छन् । उनीभित्र त्यो कला पनि छ ।’ 

गौरी खानले यसरी आफ्नो हाँसाे उडाउँदा शाहरुख पनि चुप लागेर बस्न सकेनन् । उनले हाँसेरै गौरीलाई जवाफ दिँदै भने, ‘मलाई यस्तो यसकारण भनिएको हो, किनकि मेरा पछिल्ला केही फिल्महरु चल्न सकेनन् । ’ 

खबरहरुका अनुसार शाहरुख खानले फिल्म निर्माता राजकुमार हिरानीको आगामी फिल्मको लागि स्वीकृति जनाइसकेका छन् । यस्तै उनले राज एण्ड डिकेको आगामी फिल्ममा समेत काम गर्ने तयारी गरिरहेका छन् । तर शाहरुखले वास्तवमा कुन फिल्मबाट कमब्याक गर्नेछन, त्यसको टुंगो अहिले लागिसकेको छैन । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

जुनू भण्डारी

जुनू भण्डारी उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया