वडाध्यक्षसँग दोहोरो नागरिकता रहेको दाबीसहित उजुरी

 फागुन १९, २०७६ सोमबार २०:३४:४९ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – रामगाेपालेश्वर नगरपालिका ५ का वडाध्यक्षसँग दोहाेरो नागरिकता रहेको भन्दै जिल्ला प्रशासन कार्यालय जलेश्वरमा उजुरी परेकाे छ ।

वडाध्यक्ष जितेन्द्र चौधरीसँग भारतीय नागरिकतासमेत रहेको दाबी गर्दै स्थानीय एक जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन् । पालिकाकाे चुनावमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका चौधरी भारतको सितामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको उजुरीमा उल्लेख गरिएकाे छ ।

जिल्ला प्रशासन कार्यालयमा उजुरीसँगै पेस गरेको प्रमाणमा भारतीय निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावलीमा वडाध्यक्ष चौधरी र उनका बुबाको नाम समेत रहेको छ । त्यस्तै वडाध्यक्ष चौधरीले सन् २०१९ मा भारतमा सम्पन्न भएको लोकसभा चुनावमा भोट खसालेको प्रमाणसमेत उजुरीकर्ताले प्रमाणस्वरुप पेस गरेका छन् ।

फर्जी कागजात पेस गरी वडाध्यक्ष चौधरीले भारतीय नागरिकताको साथै नेपाली नागरिकता पनि लिएको उजुरीकर्ताको आरोप छ ।

यसअघि रामगोपालपुर नगरपालिका कार्यालयमा समेत वडाध्यक्ष चौधरी भारतीय नागरिक रहेको भन्दै उजुरी परिसकेको छ । तर नगरपालिकाको न्यायिक समितिसँग नागरिकतासम्बन्धी कुनै प्रकारको अधिकार नरहेकाले प्रशासनसँग अनुसन्धान गर्न आग्रह गरेको न्यायिक समितिका अध्यक्ष समेत रहनुभएकी उपमेयर सीता साहले बताउनुभयाे । 

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उजुरी परेकोले यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे जानकारी दिनुभयाे । सत्य, तथ्य पत्ता लगाउनअनुसन्धान भइरहेकाे र वास्तविकता भए कानुनबमोजिम कारबाही गरिने खत्रीले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया