पर्वतमा कोरोना त्रास : पाहुनालाई होमस्टेमा आउन रोक

 चैत १, २०७६ शनिबार १२:३९:१८ | सन्तोष थापा
unn.prixa.net

पर्वत - पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङमा सञ्चालित चनौटे सामुदायिक होमस्टेले गाउँमा पाहुना भित्रिन रोक लगाएको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारी सँगै पूर्व सतर्कता अनुरूप होमस्टेमा पाहुना भित्रिन रोक लगाइएको हो । एक साताअघि जिल्ला प्रशासन कार्यालय पर्वतले सभा, समारोह गर्न र परिवारका सदस्यबाहेक अन्य व्यक्तिहरू सामूहिक रूपमा बस्न रोक लगाएपछि होमस्टे सेवासमेत बन्द गरिएको होमस्टे सञ्चालक गोलमान गुरूङले जानकारी दिनुभयो । 

शुक्रबार र शनिबार बिशेष गरी बढि पाहुनाहरू आउने गरेको र कोरोनाको प्रभाबले नियमितता दिन नसकिएको गुरूङले बताउनुभयो । दुर्लुङमा क्यानोनिङ खेल हेर्न र खेल्नका लागि आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् । क्यानोनिङ खेलकाे रमाइलाेसँगै पाहुनाहरू होमस्टेमा बसेर गुरूङ संस्कृतिमा रमाएर फर्किने गरेका छन् ।

दुर्लुङको चनौटेसँगै मोदी गाउँपालिका-८, चित्रेमा सञ्चालित पञ्चकोशी होमस्टेमा पनि पाहुना भित्रिन रोक लगाइएको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया