नक्कली नोटको कारोबार गरेकाे आराेपमा दुई जना पक्राउ

 चैत ६, २०७६ बिहिबार १५:३८:४३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापमा नक्कली नोटको कारोबार गरेकाे आराेपमा दुई जना पक्राउ परेका छन् । 

नक्कली नोटको कारोबारमा संलग्न भएकाे अभियोगमा सार्की तामाङ र ढाकल तामाङ पक्राउ परेका हुन् । उनीहरुको साथबाट १ लाख १२ हजार रुपैयाँ जाली नोट फेला परेको प्रहरीले जनाएको छ । 

खाँडादेवी गाउँपालिका ३ भिरपानीका कटकबहादुर कार्कीले गाेरु बेच्दा नक्कली नाेट दिएकाे भन्दै प्रहरीमा दिएको निवेदनको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । जाली नोट कारोबारमा संलग्न मुख्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका दुई जना विरुद्ध प्रहरीले खोटा मुद्रा अपचलनकाे मुद्दा दर्ता गरेकाे छ । उनीहरुलाई जिल्ला अदालत रामेछापबाट म्याद थप गरी आवश्यक अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयाे ।

अन्य स्थानीयले पनि नक्कली नोटको बिगबिगी बढेको भन्दै प्रहरीमा उजुरी दिन थालेकाे उपरीक्षक पाठकले बताउनु भयाे । रामेछापको खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिकामा नक्कली नोट दिएर स्थानीयलाई ठगी गर्ने क्रम बढेकाे प्रहरीले जनाएकाे छ । 

 गाई, गोरु, भैँसी किन्दा नक्कली नोट दिएकाे भन्दै स्थानीयले जाली नोटको व्यापार गर्नेलाई कारबाही गर्न आग्रह गरेका छन् । 

भिरपानीमा मात्रै तीन लाखभन्दा बढी नक्कली नोट भित्रिएको आशङ्का गरिएकाे छ । जाली नोटकाे काराेबार गर्ने, चोरी, निकासी र पैठारी गर्नेलाई मुलुकी अपराध संहितामा व्यवस्था भएअनुसार ७ वर्षसम्म कैद वा ७० हजारसम्म जरिबाना गर्ने कानुनी व्यवस्था रहेको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया