श्रीमतीसँगै जिमखाना पुगे शाहिद कपूर, जिमखाना 'सिल'

 चैत ७, २०७६ शुक्रबार १४:१०:३५ | जुनू भण्डारी
unn.prixa.net

काठमाण्डौ - विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (काेभिड–१९) भारतमा पनि फैलिइरहेको छ । 

कोरोनाबाट नागरिकलाई बचाउनका लागि भारतीय सरकारले विभिन्न सतर्कता अपनाइरहेको छ । भारतमा शैक्षिक संस्था, सिनेमा घर, जिमखाना बन्द गर्न निर्देशन दिइएको छ । 

अहिले सामाजिक सञ्जालहरुमा बलिवुड कलाकारहरु घरमै बस्न तथा आफ्नो स्वास्थ्यको ख्याल राख्न अपिल गरिरहेका छन् । साथै घरमै व्यायाम गरेर कसरी फिट हुने भन्ने जानकारी शेयर गरिरहेका छन् । तर यसैबीच अभिनेता शाहिद कपूर भने गुपचुप श्रीमती मिरा राजपुत कपूरलाई लिएर जिमखाना पुगको खबर चर्चामा छ ।  

हुन त भारतको मुम्बईमा पनि जिमहरु बन्द गरिएका छन् तर शाहिद कपूर र उनकी श्रीमती मिरालाई मुम्बईको बान्द्रामा रहेकाे जिमखाना अगाडि देखियो । भारत सरकारले जिम बन्द गर्ने निर्देशन दिइसकेपछि पनि शाहिद र मिरालाई जिम गएको देखेपछि धेरैले आपत्ति जनाएका छन् । 

स्थानीय सरकारले जिम बन्द निर्देशन दिइसकेपछि पनि जिम चलाएपछि जिमखानाका मालिकलाई स्पष्टिकरण दिन सूचना पठाइएको थियो र त्यसलगत्तै स्थानीय सरकारले त्याे जिमखानालाई 'सिल' गरिएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार दिनभरि बन्द रहेको त्याे जिमखाना शाहिद र उनकी पत्नी मिराका लागि मात्रै खोलिएको थियो । शाहिदले गोप्य रुपमा जिमजाने पूर्ण कोसिस गरेका पनि थिए । तर उनी भारतीय पत्रकारहरुबाट बच्न सकेनन् । 

ती जिमखानाका मालिक युधिष्ठिर जयसिंहले यस विषयमा सफाइ दिँदै शाहिद र मिरा आफ्नो साथी भएको र जिममा आफूसहित तीन जनाले मात्रै समय बिताएको बताएका छन् ।

यसअघि उनले शाहिद जिममा केवल सामानहरु लिन मात्रै आएको बताएका थिए । भारतीय सरकारी अधिकारीका अनुसार कुनै पनि एक जनाको लागि यसरी जिम खोलिनु गलत हो ।

केही समयअघि शाहिदले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसका कारण उनको आगामी फिल्म जर्सीको छायाँकनपछि सारेको बताएका थिए । शाहिदले ट्वीट गर्दै लेखेका थिए, ‘यतिबेला कोरोना भाइरसलाई फैलन नदिनु हामी सबैको सामाजिक जिम्मेवारी हो ।'

 यसकारण हामीले ‘जर्सी’ को छायाँकन रद्द गरेका छौँ । फिल्म युनिटका सदस्यहरु आफ्ना परिवारका साथ घरमै बस्नुहोस् । जिम्मेवार बनौँ र सुरक्षित रहौँ ।’ 

अन्तिम अपडेट: फागुन ३०, २०८०

जुनू भण्डारी

जुनू भण्डारी उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया