आत्महत्या दुरुत्साहन आराेपमा तीन जना पक्राउ

 चैत ६, २०७६ बिहिबार २१:५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - मध्यपुरथिमि नगरपालिका-१, मनोहरा बस्तीमा बस्ने एक महिलालाई कुटपिट गरी आत्महत्या गर्न बाध्य पारेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले धादिङ खानीखोला गाउँपालिका १० घर भइ हाल मध्यपुरथिमि-१, लोकन्थली बस्ने ३६ वर्षीया अप्सरा बाँस्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका २ घर भइ हाल लोकन्थली बस्ने ३४ वर्षीया सुनिता सुब्बा र ताप्लेजुङ तेलोक गाउँपालिका २ घर भइ लोकन्थली बस्ने १८ वर्षीया एनिहा सुब्बालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

खोटाङ दिक्तेल नगरपालिका-३, पिनालाखा घर भइ हाल मनोहरामा १८ वर्षीय छोरा अनिस राईसँगै बस्दै आएकी ३५ वर्षीय बिमला राईलाई आरोपित तीन छिमेकीले कुटपिट गरेको र शारीरिक तथा मानसिक यातना दिएपछि उनले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । 

मृतकका छोरा अनिस राईले आफ्नी आमालाई कुटपिट गरी शारीरिक तथा मानसिक याताना दिएर आत्महत्या गर्न बाध्य गराएको भन्दै तीन जनाको नाममा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राऊ गरिएको कोइरालाले जानकारी दिनुभयो । 

शवलाई परीक्षणको लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको र पक्राउ परेकाहरुलाई आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया