‘कोरोनाको त्रास कम गर्न परदेशी र परिवारले सकारात्मक सोचौं, हौसला बढाऔं’

 चैत ९, २०७६ आइतबार १७:४२:१४ | उज्यालो सहकर्मी

कोरोनाको सङ्क्रमण रोक्न सरकारले खाडीका ६ देशसँगै मलेसिया, जापान, दक्षिण कोरिया लगायतका विभिन्न देशबाट अहिले नेपाली नागरिकलाई पनि स्वदेश फर्किन रोक लगाएको छ । यस्तो अवस्थामा परदेशमा रहनुभएका तपार्ईँलाई घर फर्किन पाइएन भनेर मन दुखेको छ होला ।

अनि आफन्त परदेशमा हुने तपाईँहरुलाई पनि आफ्नो मान्छे कसरी बसेको छ भन्ने चिन्ता भएको होला । चिन्ता नहोस् पनि कसरी ? घरपरिवार नेपालमा छ, आफू विदेशमा । जहाँ कोरोनाको सङ्क्रमणको जोखिम छ । कुन बेला के हुन्छ, केही थाहा हुँदैन । यस्तो अवस्थामा चिन्ता त हुन्छ । तर चिन्ताले समस्याको समाधान त हुँदैन । यो समयमा आफूले आफ्नो मन कसरी शान्त बनाउने, घरपरिवारलाई कसरी सम्झाउने भन्ने सोच्नुपर्छ ।

परिवारका सदस्य र परदेशीले के गर्ने  ?

तपाईँको आफन्त परदेशमा छन् भने अब संयमता अपनाउनुहोस् । तर धेरै फोन नगर्नुहोस्, यसले परदेशमा रहेका आफन्तलाई आतंकित बनाउन पनि सक्छ । फोनमा रुने पनि नगर्नुहोस् । यसले व्यक्तिलाई मानसिक रुपले तनावग्रस्त बनाउँछ । एन्जाइटीमा जानसक्छ मान्छे । त्यसैले यस्तो अवस्थालाई रोक्न दुवै तर्फबाट बराबर ध्यान दिनपर्छ । घरपरिवारको मान्छेले पनि आफू राम्रो छु त्यहाँ तिमीहरु पनि राम्रोसँग बस भनेर सकारात्मक कुरा गर्नुहोस् । 

विदेशमा हुनुहुन्छ भने पनि घरपरिवारसँग कुरा गर्दा म ठिक छु, यहाँ केही पनि भएको छैन भनेर परिवारका सदस्यलाई सम्झाउनुहोस् । परिवारका मान्छेले यस्तो बेला धेरै तनाव हुने कुरा नसुनाउनुहोस् । बारम्बार फोन गरिरहने नगर्नुहोस् ।

तपाईँको फोनले तनावमा भएको मान्छेलाई दिक्क लाग्न सक्छ । दुवै पक्षले सकारात्मक सोच्नुहोस् । घरपरिवारले पनि विदेशमा भएका आफ्ना परिवारका सदस्यसँग सकारात्मक कुरा गर्नुपर्छ । आत्तिने, डर पैदा गर्ने, रोएर बोल्ने गरेमा घरबाट टाढा एक्लै बसिरहेकाहरुमा नराम्रो असर पर्छ । भयले पनि मानिसको रोगप्रतिरोधात्मक क्षमतालाई कमजोर तुल्याउँछ । त्यही भएर भय सिर्जना नहुने तरिकाले कुरा गर्नुपर्ने हुन्छ । 

होम क्वारेन्टाइनमा बस्दा  

यस्तो अवस्थामा सबैले घरमै बस्नुपर्ने हुन्छ । जागिर गर्नेहरुले पनि घरबाटै काम गर्न सक्ने वातावरण बनाउनुपर्छ । घरमा बस्दा सबैभन्दा महत्वपूर्ण कुरा हामीले योग गर्नुपर्छ । यसले स्ट्रेश हर्मोन जान्छ । जतिसक्दो योग, कसरत गर्ने गर्नुपर्छ ।

यस्तै ध्यान गर्नु पनि अर्को महत्वको कुरा छ । लामो श्वास तान्दै पटकपटक ध्यान गरेमा आफूमा शान्ति त छाउँछ नै, शरीरले पर्याप्त मात्रामा अक्सिजन पनि पाउँछ।

ध्यान, योग, कसरत जस्तै हाँस्ने, खुसी हुने वातावरण बनाउनुपर्छ । त्यसको लागि चुट्किला (जोक्स) पढ्ने, सुन्ने, यूट्यूबमा कमेडी मुभीहरु हेरेर हाँस्ने गर्नुपर्छ । यसरी आफूलाई व्यस्त राख्नुपर्छ । व्यस्त भएन भने दिमागमा अनेकथरी सोचाइहरु आउँछन् । ‘ओभरथिङ्किङ’ गर्न थालेपछि दिमाग भारी हुन्छ । त्यही भएर सकेसम्म आफूलाई केही न केही कुरामा व्यस्त राख्नुपर्छ ।

विदेशमा पनि ‘लकडाउन’ हुँदा त्यहाँ कसैले बाहिर जान पाएका हँुदैनन्, कोठाभित्रै थुनिएर बस्नुपरेको अवस्था हुन्छ । यस्तोमा यहाँबाट बारम्बार फोन गरेर उनीहरुलाई दिक्क बनाउने काम पनि गर्नु हँुदैन । फोन गर्ने मात्रा घटाउनुपर्छ । फोन गरे पनि उनीहरुलाई हौसला पुग्ने कुरा मात्र गर्नुपर्छ ।

यतिबेला घरमा हुनुहुने र विदेशमा हुनुहुने दुवै पक्षको बराबर दायित्व छ । विदेशमा भएकाहरुले पनि शान्त र धैर्यवान हुने र घरपरिवारका सदस्यले पनि सकारात्मक सोच राख्ने, आफूलाई सुरक्षित राख्ने, अहिले अवस्था यस्तै छ भनेर मानसिक स्थितिलाई शान्त राख्ने गर्नुपर्छ ।

जति हामी सकारात्मक हुन्छौं, त्यति हामी खराब समयलाई जित्न सक्छौं । हामी सकारात्मक भएनौं भने समयले हामीलाई जित्छ । 

(मनोविद गंगा पाठकसँग गरिएको कुराकानीमा आधारित । )
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया