अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
मोरङ – मोरङका राजनीतिक दलहरुले कोरोना भाइरसको मौका छोपेर कालोबजारी गर्नेलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
सम्वाद समूह मोरङमा दलहरुले साझा धारणा बनाउँदै अफवाह फैलाउनेलाई पनि कारबाही गर्न सरकारसँग माग गरेका छन् । यसमा दलहरुले सरकारलाई सहयोग गर्ने पनि जनाएका छन् ।
यस सन्दर्भमा प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय प्रशासनसँग छलफल गरेर अघि बढ्ने दलहरुको भनाइ छ ।
राजनीतिक दलहरुले मानव स्वास्थ्यको सम्बन्धमा सचेतना र जागरुकता बढाउन संचारमाध्यमको प्रयोग गरेर नागरिकसम्म सूचना पुर्याउने बताएका छन् ।
नेकपाका नेता विनोद ढकालले आरोप प्रत्यारोपभन्दा पनि दलहरु एकजुट भएर जानुको विकल्प नभएको बताउनुभयो ।
स्वास्थ्यमा विश्वको दोस्रो शक्तिशाली देश इटालीले हात उठाइसकेको अवस्थामा नेपालमा कोरोनाको सङ्क्रमण देखिनेबित्तिकै सरकारसँग कुनै उपाय नहुने उहाँले स्पष्ट पार्नुभयो ।
त्यस्तै नेकपाका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले कोरोनाबाट बच्नको लागि सचेतना र जागरुकता नै पहिलो उपचार भएको बताउनुभयो ।
आम रुपमा हिँडडुल र भेटघाट नगर्न सरकारले भनेकोले नागरिकमा एक खालको त्रास भएपनि नेपालजस्तो देशमा कोरोनाबाट बच्नुको पहिलो उपाय नै सचेतना र आनीबानीमा परिवर्तन गर्नु रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका जिल्ला सचिव नागेश कोइरालाले जनतालाई राहत दिन अहिलेदेखि नै तयारी थाल्न सरकारलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका अर्का सचिव मोदराज घिमिरेले अहिले पनि खुला सिमानाका कारण आवतजावत भइरहेको स्मरण गराउनुभयो ।
अहिलेजस्तै सीमा खुला रहने हो भने अवस्था भयावह हुने भएकोले यसलाई तत्काल रोक्न सरकारसँग घिमिरेले आग्रह गर्नुभयो ।
राजपाका अध्यक्ष मोहम्मद कादिरले कालोबजारी नियन्त्रण गर्न स्थानीय प्रशासनले कडाइका साथ लाग्नुगर्ने बताउनुभयो ।
राप्रपाका स्थानीय नेता टंक गुरागाईंले अप्ठ्यारोमा जनताले दलहरुको साथ खोजेको बताउनुभयो ।