कोरोनाले घटेन वैदेशिक व्यापार, आयात बढ्दा निर्यात घट्यो

 चैत १०, २०७६ सोमबार १६:३३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - कोरोना भाइरसको प्रभावले धेरै देशको व्यापारमा प्रभाव परे पनि नेपालको वैदेशिक व्यापारमा असर नपरेको देखिएको छ । फागुन महिनासम्म नेपालको वैदेशिक व्यापारमा खासै कमी आएको छैन । 

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका सुरुका आठ महिना अर्थात साउनदेखि फागुनसम्म ९ खर्ब ९९ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । 

यो गएको वर्षकोभन्दा एक दशमलव ११ प्रतिशत कमी हो भने अघिल्लो महिनासम्म गएको वर्षको तुलनामा कुल वैदेशिक व्यापारमा दुई दशमलव शून्य एक प्रतिशतले कमि आएको थियो । 

यो वर्षको सुरुदेखि नै आयातमा कमि आएपनि पछिल्लो समय बढ्न थालेको छ । यो आर्थिक वर्षको सुरुको महिनामा आयात साढे ११ प्रतिशतले घटेको थियो, तर आठौं महिनामा आइपुग्दा आयातमा जम्मा दुई दशमलव ६२ प्रतिशतले कमि आएको छ । 

जबकी अघिल्लो महिनासम्म आयात तीन दशमलव ५६ प्रतिशतले घटेको थियो । फागुन महिनासम्म नेपालमा ९ खर्ब २४ अर्ब २५ करोड रुपैयाँको सामान आयात भएको छ । 

यस्तै निर्यातको दर क्रमश घट्दै गएको छ । यो आर्थिक वर्षको सुरुको महिनामा निर्यात व्यापार साढे २७ प्रतिशतले बढेकोमा अघिल्लो महिनासम्म झण्डै साढे २२ प्रतिशतमा झरेको थियो । 

आठौं महिना अर्थात फागुनसम्म आइपुग्दा निर्यातको बृद्धिदर पनि २२ दशमलव ३५ प्रतिशतमा झरेको छ । आठ महिनामा नेपालले ७४ अर्ब ९० करोड ७९ लाख रुपैयाँ वराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । 

आठ महिनामा नेपालको कुल व्यापार घाटा पोहोरको यै अवधिको तुलनामा चार दशमलव ३४ प्रतिशतले घटेर ८ खर्ब ४९ करोड ३३ लाख रुपैयाँमा झरेको छ ।पछिल्लो ८ महिनामा १ खर्ब ४९ अर्व रुपैयाँको पेट्रोलियम पदार्थ, विटुमिन लगायत आयात भएको छ।

 ७८ अर्व रुपैयाँ बराबरको फलाम र स्टिल, ६६ अर्ब ४१ करोड रुपैयाँ वराबरका विद्युतीय सामग्री, २० अर्ब रुपैयाँको औषधीजन्य सामग्रीर २० अर्ब  रुपैयाँको जहाज तथा पाटपुर्जा आयात भएको छ । खाद्यान्न ३७ अर्ब रुपैयाँको आयात भएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया