तनहुँमा विदेशबाट फर्किएका ६ जना होम क्वारेन्टाइनमा, पालिकाले विदेशबाट फर्कनेको विवरण सङ्कलन गर्न थाले

 चैत १२, २०७६ बुधबार १४:५९:५६ | रासस

काठमाण्डौ – तनहुँको शुक्लागण्डकी नगरपालिकामा विदेशबाट फर्किएका छ जना होम क्वारेन्टाइनमा बसेका छन् । कोरोना भाइरसको सचेतनास्वरुप विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएबमोजिम उनीहरु पनि होम क्वारेन्टाइनमा बसेका हुन् ।

शुक्लागण्डकी नगरपालिकामा गठित दु्रत प्रतिकार्य टोलीका संयोजक एवं स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले विदेशबाट फकिएका उनीहरुलाई घरमै सुरक्षित रुपमा बस्न सुझाव दिइएको जानकारी दिनुभयो । श्रीवास्तवका अनुसार पछिल्लो अवधिमा नगरपालिकाभित्र धेरै नै सङ्ख्यामा विदेशबाट फर्किएको पाइएकोले तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।

उहाँका अनुसार भारतको गुजरातबाट आएका एक, दुबईबाट दुई, जापानबाट एक, कतारबाट एक र बहराइनबाट एक जना होम क्वारेन्टाइनमा बसेका छन् ।
विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलनका लागि हटलाइनको व्यवस्था गरिएकाले थप व्यक्तिहरुको तथ्याङ्क सङ्कलन भइरहेको छ ।

यता व्यास नगरपालिकाका विभिन्न वडामा पनि विदेशबाट फर्किएकाहरुको जानकारी लिने काम भइरहेको छ । व्यास नगरपालिका–१, ६, ९ लगायतका वडामा विदेशबाट युवाहरु आएको सम्बन्धित वडाका अध्यक्षहरुले जानकारी दिनुभएको छ ।

व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले दुवईबाट फर्किएका युवालाई सम्पर्क गरी सुरक्षित रुपमा घरमा बस्न आग्रह गरिएको जानकारी दिनुभयो ।    नगरपालिकाले प्रत्येक वडा कार्यालयमार्फत विदेशबाट फर्किएकाको विवरण सङ्कलन गरिरहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै, चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । संसारभरी फैँलदै गएको कोभिड–१९को नेपालमा सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै नगरपालिकाले तत्काल विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्न लागेको हो ।

चन्द्रागिरिले विदेशबाट फर्केका व्यक्तिको नाम, फर्र्किएको देशको नाम, स्वदेश फर्केको मिति र सम्पर्क नम्बर माग गरेको छ । काठमाण्डौ प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रागिरिमा १५ वडा छन् । नगरपालिका बाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो ।

सरकारले चैत ११ गते बिहानदेखि चैत १८ गते साँझसम्म देशैभरि ‘लकडाउन’ गरेपछि चन्द्रागिरि नगरपालिकाले पनि आफ्ना नगरवासीलाई घरभित्र बस्न माइकिङ गर्ने भएको छ ।  
विदेशबाट आएका व्यक्तिलाई कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा रहनका लागि अनुरोध गरिएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया