कोरोना सङ्क्रमणको आशङ्कामा काठमाण्डौ र ललितपुरका तीन वटा अस्पतालमा १७ जनाको उपचार हुँदै

 चैत १४, २०७६ शुक्रबार ९:३०:३९ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – कोरोना सङ्क्रमणको आशङ्कमा काठमाण्डौको दुई वटा र ललितपुरको एउटा अस्पतालमा १७ जनाको उपचार भइरहेको सरकारले जनाएको छ । 

काठमाण्डौको कान्ति बाल अस्पतालमा ९ जना तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा चार/चार जना गरी १७ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै टेकु अस्पतालमा उपचार गराइरहेका एक जनालाई भने डिस्चार्ज गरिएको छ । कोराना पुष्टि भएका दुई जनाको काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोेलेशनमा राखेर उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

अहिले देशभरका अरु अस्पतालमा रुघाखोकी र ज्वरो आएका बिरामी पनि दिनहुँ पुग्ने गरेका छन् । उनीहरुमध्ये १० जनालाई कोरोनाको आशङ्का गरिएको र नमुना परीक्षणको लागि टेकुमा रहेको प्रयोगशालामा पठाइएको पनि मन्त्रालयले जनाएको छ । उनीहरुको रिपोर्ट आउँन बाँकी छ । 

अहिलेसम्म नेपालमा कोरोना परीक्षण गरिएका सात सय ५८ जनामध्ये तीन जनामा कोरोना पुष्टि भएको छ । एक जना निको भइसकेका छन् भने अरु दुई जनाको उपचार भइरहेको छ । 

बिहीबारसम्ममा देशभरिका ८० वटा स्वास्थ्य संस्थामा ६ सय १३ वटा आइसोलेशन बेडको व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रदेश १ का १३ वटा स्वास्थ्य संस्थामा ६७ वटा, प्रदेश २ का पाँच वटा स्वास्थ्य संस्थामा ९८ वटा, वाग्मती प्रदेशका ४३ वटा स्वास्थ्य संस्थामा एक सय ७९ वटा र गण्डकी प्रदेशको २१ वटा स्वास्थ्य संस्थामा एक सय १३ वटा आइसोलेशन बेड तयार गरिएको छ । त्यस्तै प्रदेश ५ का १४ वटा स्वास्थ्य संस्थामा ८९ वटा, कर्णाली प्रदेशमा २० वटा र सुदूरपश्चिम प्रदेशका १८ वटा स्वास्थ्य संस्थामा ४७ वटा गरी देशभरका ८० वटा स्वास्थ्य संस्थामा ६ सय १३ वटा आइसोलेशन बेड तयार गरिएको हो । 

कोरोना भएको शङ्का लागेमा पैसा नलाग्ने फोन नम्बर १११५ मा फोन गर्न सकिनेछ । १११५ नम्बरमा बिहान ६ बजेदेखि राति १० बजेसम्म फोन गर्न सकिनेछ । यो नम्बरमा अहिले दैनिक ११ सय ५० वटासम्म फोन आउने गरेका मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया