कोरियामा रहेका नेपालीले तीन घण्टामै कोरोना परीक्षण गर्ने ‘किट्स’ पठाउँदै

 चैत १४, २०७६ शुक्रबार ९:५८:४५ | उज्यालो सहकर्मी

जोकराज कुलुङ

कोरिया – वैदेशिक रोजगारीको लागि कोरियामा रहेका नेपालीहरुले कोरोना भाइरस परीक्षणको किट्स पठाउने भएका छन् । 

खकारबाट कोरोना परीक्षण गरी तीन घण्टामै नतिजा दिन सकिने पाँच हजार किट्स खरिद गरेर नेपाल पठाउन लागिएको एनआरएनए कोरियाका सचिव मनोज गौतमले जानकारी दिनुभयो । किट्स खरिदका लागि कोरियामा रहेका नेपालीहरुले ७० लाखभन्दा धेरै रकम सङ्कलन गरिरहेका छन् । 

यो क्रम अझै बढिरहेको र रकम धेरै भएमा किट्सका साथै अरु सामग्री समेत पठाइने सचिव गौतमले जानकारी दिनुभयो ।  ‘किट्स खरिदका लागि किट्स बेच्ने कम्पनीसँग सम्झौता पनि भइसक्यो, भोलिसम्ममा पाँच हजार किट्स प्राप्त हुन्छ’, सचिव गौतमले भन्नुभयो । 

कोरियाबाट सिधा उडान नभएकोले चीनमा पठाउने र चीनमा रहेको टोलीले समन्वय गरेर भोलि नै नेपालमा किट्स पुर्याउने तयारी भएको सचिव गौतमले बताउनुभयो ।  

अहिले नेपालमा रहेको प्रविधिबाट कोरोना परीक्षण गर्दा नतिजा आउन कम्तीमा २४ घण्टाभन्दा धेरै लाग्ने गरेकोमा कोरियामा रहेको किट्सले तीन घण्टामा सजिलै नतिजा दिन सकिने जनाइएको छ । यही प्रविधिका कारण कोरिया सरकारले सडमकै परीक्षण शिविर चलाएर दैनिक १५ हजारभन्दा धेरैको जाँच गरेको थियो । 

कोरियामा नेपाली समय अनुसार १२ देखी १ बजेसम्म खाना खाने समय भएकोले त्यसबीचमा अझ सहयोग थपिन सक्ने र थप किट्स तथा अरु सामग्री थप्न सकिने गौतमले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

2 Comments

  • रामचन्द्र रानाभाट

    March 28, 2020, 4:41 a.m.

    हजुर हरुको देश प्रतिको माया ले आभार छौ, धन्यवाद सम्पुर्ण लाई ।

  •  0 Reply
  • Ram Thakuri

    March 27, 2020, 11:26 a.m.

    हार्दिक आभार ती बिशाल ह्रदय भएका प्रति /

  •  0 Reply

तपाईको प्रतिक्रिया