तनहुँमा विदेशबाट फर्किएका २ सय ९७ जना होम क्वरेन्टीनमा

 चैत १४, २०७६ शुक्रबार १६:१६:१० | रासस
unn.prixa.net

तनहुँ - तनहुँमा दुई हप्ताको अवधिमा विदेशबाट फर्किएका २ सय ९७ जनालाई होम क्वरेण्टीनमा  राखिएको छ ।

कोभिड-१९ को जोखिम नियन्त्रण गर्नका लागि उनीहरुलाई होम क्वरेण्टीनमा राखिएको हो । उनीहरु सुरक्षितरूपमा घरमा नै बसिरहेका छन् । जिल्लाका प्रत्येक वडामा पुगेर जनप्रतिनिधिले विदेशबाट आउनेको विवरण सङ्कलन गरिरहेका छन् । 

नजिकका स्वास्थ्य संस्थामा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य पाइएपछि होम क्वरेण्टीनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । ‘कोभिड-१९ सँग मिल्ने लक्षण देखा परेको छैन, तैपनि विदेशबाट आएको हुनाले सबैलाई होम क्वरेण्टीनमा राखिएको छ,’अधिकारीले भन्नुभयो । 

जिल्लाका ३४ ठाउँमा क्वरेण्टीन बनाइएको छ तर ती क्वरेण्टीनमा भने अहिलेसम्म कसैलाई पनि राखिएको छैन । त्यस्तै व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा आइसोलेशन कक्ष निर्माण गरिएको छ ।

भीमाद नगरपालिकामा विदेशबाट फर्किएका ९८ जना होम क्वरेण्टीनमा  बसेका छन् । ती व्यक्तिहरु विभिन्न १३ देशबाट दुई साताको अवधिमा घर फर्किएको खुल्न आएको छ । यस्तै कोरोना सङ्क्रमित १९ वर्षीय युवती आएको जहाजमा आएका एक यात्रु तनहुँका भएकोे पुष्टि भएको छ । 

उडानमा तनहुँको भीमाद घर भई पोखरा बस्ने गुरुङ थरका एक व्यक्ति रहेको पुष्टि भएको र उनी हाल पोखरामा क्वरेन्टीनमा बसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । 

त्यस्तै शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा विदेशबाट फर्किएका ६५ जना भेटिएका छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवका अनुसार नगरपालिकाको १२ वटै वडामा विदेशबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलन गरिएको छ । भारत, दुबई, मलेसिया, माल्दिभ्स, जापान, कतार, श्रीलङ्का लगायतबाट उनीहरु घर फर्किएका छन् । 

‘अहिलेसम्म उनीहरु सबैको अवस्था सामान्य रहे पनि सबैलाई सुरक्षितरूपमा होम क्वरेन्टीनमा बस्न सुझाव दिएका छौँ' श्रीवास्तवले भन्नुभयो । उनीहरु भारत, जापान, अष्ट्रेलिया, साउदी, कतारबाट फर्किएका हुन् । उनीहरुलाई स्वास्थ्य परीक्षणपछि घरमै सुरक्षितरूपमा बस्न आग्रह गरिएको नागिलाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया