चौथो सङ्क्रमित भेटिएपछि उच्च सावधानी अपनाउन सरकारको आग्रह

 चैत १५, २०७६ शनिबार ९:२९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - धनगढीमा कोरोना संक्रमित चौथो व्यक्ति भेटिएपछि देशका अरु ठाउँमा पनि संक्रमित हुन सक्ने भन्दै उच्च सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहेका ३४ वर्षका पुरूषमा हिजो कोरोना संक्रमण पुष्टि भएकाले देशका अरु ठाउँमा पनि संक्रमित हुन सक्ने देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । उपत्यकाबाहिर पनि कोरोना सस्ंक्रमित पुष्टि भएकाले विशेषगरी विदेशबाट आएका सबैजनालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आग्रह गर्नुभएको छ ।

उहाँले कोरोनाको संक्रमण थप फैलन नदिन विदेशबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न र सबैलाई लकडाउन पालना गर्न आग्रह गर्नुभएको हो । यस्तै अनावश्यक हल्लाको पछि नलाग्न पनि उहाँले अनुरोध गर्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो थप ४४ जनाको गरी अहिलेसमम ८ सय २ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा एक जना उपचारपछि निको भएका छन् ।

अरु दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा र एक जनाको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै अहिले काठमाण्डौं र ललितपुरका तीन वटा अस्पतालमा १३ जनाको आइसोलेसनमा उपचार भैरहेको छ भने ११ जनालाई डिस्चार्ज गरिएको छ । ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा ६ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४ जना तथा कान्ति बाल अस्पतालमा ३ जना गरि १३ जनाको आइसोलेसनमा उपचार भैरहेको हो । यस्तै कान्तिबाट ६ जना र टेकुबाट ५ जना गरि ११ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया