प्रदेश १ मा २० जनाको कोरोना रिपोर्ट नेगेटिभ, १८४८ क्वरेन्टीन निर्माण

 चैत १५, २०७६ शनिबार ९:४०:५२ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – कोरोना भाईरसको आशंका गरि प्रदेश १ का विभिन्न अस्पतालको आइसोलेसनमा रहेका २० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत शंकास्पद २५ जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाएकोमा २० जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेश सरकारले जनाएको छ ।

परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएका मध्ये ५ जनाको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट नेगेटिभ आएपछि ५ जनालाई आइसोलेसनबाट डिस्चार्ज गरिएको छ भने १५ जनाको आइसोलेसनमै उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, उदयपुर अस्पताल, गाईघाटवाट १, कोशी अस्पताल विराटनगरबाट ६, र मेची अस्पताल भद्रपुरबाट २ गरि २५ जनाको नमूना संकलन गरी टेकुमा परीक्षणको लागि पठाइएको थियो ।

उनीहरुमध्ये २० जनाको नतिजा नेगेटिभ आएको र ५ जनाको नतिजा आउने क्रममा रहेको उहाँले बताउनुभयो । प्रदेश १ मा कोरोनाको जोखिममा रहेका शंकास्पद व्यक्तिहरुलाई राख्न १०९ स्थानमा १८४८ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।

ती क्वरेन्टीनमा अहिले २८७ पुरुष र ४१ महिला गरी ३२८ जनालाई राखिएको छ । यस्तै २२ महिला र ५६ पुरुष गरी ७८ जनालाई होम क्वरेन्टीनमा बस्नेगरी पठाएको छ । प्रदेशमा २८७ पुरुष र ८२ महिला गरी ३६९ जना होम क्वरेन्टीनमा रहेका छन् । प्रदेशका ३९ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न २५६ बेडको आइसोलेसन तयार गरिएको छ ।

प्रदेश सरकारले थप ८ सय बेड आइसोलेशन बनाउन विभिन्न ६ अस्पताललाई निर्देशन दिएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया