'लकडाउन'को प्रभाव हावामा, सिमरा बाहेक सबै केन्द्रमा 'ग्रीन सिग्नल’

 चैत १५, २०७६ शनिबार १४:४६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘लकडाउन’ का कारण सवारीसाधन र उद्योगधन्दाहरु बन्द हुँदा वातावारणमा भने सकारात्मक प्रभाव परेको छ । हावामा प्रदूषण धेरै हुँदा बसोबासका लागि नै अयोग्य रहेका शहरहरुमा अहिले हरियो चिन्ह देखिएको छ । 

अहिले वातावारण विभाग र अरु विभिन्न सङ्घसंस्थाले देशका विभिन्न २२ ठाउँमा राखेका हावाको प्रदूषण मापन केन्द्रहरुमध्ये बाराको सिमरा बाहेक सबै केन्द्रहरुले हरियो चिन्ह देखाएका छन् । एक हप्ताअघि सम्म धेरैजसो मापन केन्द्रहरुले रातो चिन्ह देखाउने गरेका थिए । धेरैजसो रातो चिन्ह देखिने काठमाण्डौ उपत्यकाका सबै केन्द्रहरुमा अहिले हरियो चिन्ह देखिएको छ । 

हावाको प्रदूषण मापन सुचकाङ्क अक्वा ५० सम्ममा मानिसको बसोबासका लागि राम्रो मानिने वातावारण विभागका उपमहानिर्देशक ईन्दु वित्रmम जोशीले बताउनुभयो । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अक्वाको अन्तर्राष्ट्रिय मापदण्ड २५ तोकेको छ भने नेपालले ४० मा सीमित राख्ने लक्ष्य लिएको छ । अक्वा एक सय ५० भन्दा माथि गएपछि बसोवासका लागि अयोग्य मानेर मापन केन्द्रहरुमा रातो चिन्ह देखाइन्छ । 

धेरैजसो रातो चिन्ह देखिने काठमाण्डौको रत्नपार्कमा रहेको मापन केन्द्रमा गएको चार दिनदेखि हरियो चिह्न देखिएको छ । शनिबार दिउँसो धुलिखेलमा अक्वा ९ मा झरेको छ । जसलाई धेरै राम्रो मानिन्छ । 

अहिले कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको कारण लकडाउन तथा उद्योगहरु बन्द हुँदा विश्वमै प्रदूषण कम भएको र ओजन तहमा सकारात्मक प्रभाव देखिएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया