घरघरमा गएर फोहर उठाउन सरकारको निर्देशन, फोहर बाहिर फाल्नेलाई कारबाही

 चैत १५, २०७६ शनिबार १७:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

सरकारले तत्काल नागरिकको घरघरमा गएर फोहर सङ्कलनको व्यवस्था मिलाउन पालिकाहरुलाई निर्देशन दिएको छ । 

शनिबार शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ति निकालेर आजैदेखि घरघरमा गएर फोहर सङ्कलनको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । आजैदेखि काठमाण्डौ उपत्यकाको फोहर सङ्कलन र सिसडोलमा विसर्जन गर्न सुरु भएको मन्त्री मानन्धरले जानकारी दिनुभयो । 

कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न परिस्थितिको सामना गर्नका लागि ‘लकडाउन’ मा बस्नुपरेको यो अवस्थामा घरबाट निस्कने फोहर व्यवस्थापनलाई चुस्त बनाउन मन्त्रालयका तर्फबाट पहल सुरु गरिसकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

मन्त्रालयले आजैदेखि घरघरमा फोहर सङ्कलक पठाइ त्यसको समुचित व्यवस्थापनमा लाग्न देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नरपालिकाहरुलाई निर्देशनात्मक अनुरोध गरेको हो ।  

सङ्घीय राजधानी काठमाण्डौको फोहर व्यवस्थापनका सवालमा देखिएको समस्या समाधानका लागि काठमाण्डौ र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिका सहित सबै नगरपालिकाहरुलाई तत्काल समाधान हुने गरी काम थाल्न समेत अनुरोध गरिएको छ । 

उपत्यकाको फोहर उत्सर्जन हुने स्थान सिसिडोलमा पनि गर्मीसँगै फैलने दुर्गन्ध रोकथाम र कीटाणु नासका लागि आवश्यक औषधिको व्यावस्थापन गराउने काम तत्काल थाल्न उपत्यकाका नगरपालिकालाई निर्देशन दिइ सकिएको विज्ञप्तिमा उल्लेख छ । साथै सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि बिहान ८ बजेभित्र फोहर विसर्जनको व्यवस्था मिलाउन उपत्यकाका नगरपालिकाहरुसँग मन्त्रालयले आवश्यक पहल गरिसकेको उल्लेख गरिएको छ । 

फोहोर सङ्कलनमा खटिने सङ्कलक र सवारी चालक तथा अन्य कर्मचारीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्थापन मिलाउने कामको सुरु समेत भइसकेको मन्त्री मानन्धरले दाबी गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया