कोरोना परीक्षणको सुविधालाई विकेन्द्रीकरण गर्न लागेका छौँ

 चैत १६, २०७६ आइतबार १३:५९:६ | प्रदीप ज्ञवाली
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसविरुद्ध तीन महिनादेखि लडाइँ लडेपछि चीन बल्ल सामान्य अवस्थामा आएको छ । अरु विकसित देशहरुले पनि स्वास्थ्य सामग्रीहरुको अभाव भोगिरहेका छन् । 

मैले हिजोमात्रै अमेरिकी राष्ट्रपतिको निर्देशन पढेको थिएँ । उहाँले मोटर कम्पनीलाई मोटर उत्पादन गर्न छाडेर भेन्टिलेटर उत्पादन गर्न निर्देशन दिनुभएको छ ।
अहिले हाम्रोमा पनि स्वास्थ्य सामाग्रीको अभाव छ । स्वास्थ्य सामग्री बनाउने कारखानाको पनि अभाव छ ।

सङ्क्रमण फैलिरहँदा त्यसका आफ्नै सीमाहरु होलान् । तर अहिले सङ्क्रमणको जुन डर छ, त्यसको लागि हामीले पर्याप्त तयारी गरिरहेका छौँ । 

अहिले हामीले तीन तहमा काम गरिरहेका छौँ । पहिलो कुरा खाद्यन्न आपूर्तिको हो । त्यसको लागि नियमित पसल खोल्नुपर्छ । ग्राहकसँगको दूरी कायम गर्दै सामान बिक्री गर्न सकिन्छ । हामीले बिहान र साँझ निश्चित समय तोकेर खुद्रा पसल खुला गर्न दिएका छौँ । 

यस्तै केही डिपार्टमेन्ट स्टोरहरुले अनलाइन डेलिभरीको सुविधा दिएका छन् । त्यसैगरी मुख्य सहरी केन्द्रहरुमा खाद्य संस्थानसँग मिलेर सुपथ पसलहरु सञ्चालन गरिरहेका छौँ । 

ज्यालादारी श्रमिकहरुको हकमा स्थानीय सरकारसँग मिलेर उहाँहरुलाई आवश्यक सामग्री उपलब्ध गराउने तयारीमा छौँ ।

यस्तै पेट्रोलियम पदार्थको कुनै चिन्ता छैन । खाद्यन्न पनि पर्याप्त छ । आपूर्ति सहज छ । हामीले मित्रराष्ट्र भारतसँग सम्पर्क गरिरहेका छौँ ।

व्यापारीहरुले यो सङ्कटको बेला निष्ठापूर्वक काम गर्नुपर्यो । उहाँहरुले व्यापार गर्नेभन्दा पनि यो सेवा गर्ने समय हो भनेर बुझिदिनुभयो भने खाद्यान्न आपूर्तिमा कुनै समस्या हुने छैन ।

अहिलेको कठिनाइलाई हामी सबैले बुझ्नुपर्ने हुन्छ । अहिले सबैको सामान्य स्वास्थ्य परीक्षण सम्भव नहोला । अहिले हामीले कोरोना सङ्क्रमणको परीक्षणलाई नै जोड दिने हो । त्यसका लागि आजदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना भाइरसको परीक्षण सुरु भएको छ । 

हिजैमात्र पीपीआर मेसिनहरु ल्याएका छौँ । पीपीआर मेसिनहरु स्थापना गरिसकेपछि हामीले पोखरा र नेपालगञ्जबाट पनि कोरोना परीक्षण सुरु गर्नेछौँ । त्यसपछि हेटौँडा, बुटवल र धनगढीबाट कोरोना परीक्षण सुरु गर्नका लागि अहिलेदेखि नै त्यसको तयारीमा छौँ । कोरोना परीक्षणको सुविधालाई विकेन्द्रीकरण गर्नेतर्फ हामी लागिरहेका छौँ । 

सङ्क्रमणको आशङ्का भएकाहरुको नमुना काठमाण्डौ पठाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य होस् भन्नेमा हामी काम गरिरहेका छौँ ।

यस्तै ज्यालादारी श्रमिकको हकमा सरकार चिन्तित छ । हामीले केही न केही योजना अगाडि बढाउँछौँ । यसमा स्थानीय सरकारको एकदमै महत्वपूर्ण भूमिका भएकोले उहाँहरुलाई तदारुकताका साथ तयारीमा रहन आग्रह गर्दछु ।

यस्तै विदेशमा रहनुभएका नेपाली नागरिकको सुरक्षाको जिम्मेवारी पनि नेपाल सरकारको नै हो । म यस विषयमा पनि निकै चिन्तित छु । मैले केही दिनअगाडि मात्रै खाडी देशहरुलगायत मलेसिया, जापान, कोरिया, युरोपेली देश, अफ्रिकाका नियोग प्रमुखसँग सम्पर्क गरेको थिएँ र नियमित सम्पर्कमा छु । नेपालीहरुका लागि चौबिसै घण्टा हटलाइनको व्यवस्था गरिदिन र कसैलाई अप्ठ्यारो पर्दा आवश्यक सुविधा पुर्याउन नियोग प्रमुखहरुलाई आग्रह गरेको छु ।

अहिलेसम्म सङ्कटको विषय भनेको खाडीका देश र बहराइनमा तीन जना तथा यूएईमा दुई जनामा कारोनाको सङ्क्रमण देखिएको छ । यो दुःखद कुरा हो । तर त्यहाँका दूतावासहरुसँग बुझ्दा उहाँहरुको अवस्था सामान्य छ ।

यस्तै हाम्रा श्रमिकहरुको कतै करार अवधि सकिएको त कतै भिसाको म्याद सकिएको अवस्था पनि छ । यस्तोमा भिसा अवधि सकिएर वा करार सकिएकै कारणले पछि कुनै अप्ठ्यारो नहुने र गैरकानुनी नहुनेगरी दूतावासहरुले त्यहाँको सरकारसँग समन्वय गरिरहेका छन् ।

ती क्षेत्रमा रहनुभएका नेपाली श्रमिकहरुलाई भिसा अवधि सकिँदा, करार सकिँदा नआत्तिन म आग्रह गर्दछु । त्यहाँको सरकारले भनेका कुरा, बनाएका नियम र निर्देशनहरु पालना गरिदिनुहोला, आफ्नो ख्याल राख्नुहोला र नआत्तिनुहोला भन्न चाहन्छु ।

यस्तै कतिपय देशमा नेपाली विद्यार्थीहरु पनि छन् । आफ्नो खर्च जुटाउनको लागि अल्पकालीन जागिर गर्नुहुन्थ्यो । यस्तो सङ्कटको बेला उहाँहरुले काम गर्न पनि पाउनुभएको छैन । त्यस्ता विद्यार्थीहरुको लागि घरबाट पैसा पठाउन हामीले राम्रो प्रबन्ध गरेका छौँ । 

युरोप र अमेरिकामा पनि डरलाग्दो गरी सङ्क्रमण फैलिएको अवस्था छ । ति देशमा लामो समयदेखि बस्दै आउनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले ज्यान गुमानुभएको हामीले सुनेका छौँ । अरु केही ठाउँमा पनि सङ्क्रमण फैलिएको छ । यो समयमा हामी तपाईंको साथमा छौँ । यो अवस्थामा तपाईं आफ्नो ख्याल गर्नुहोला । नेपालमा रहनुभएका तपाईंका आफन्तलाई पनि त्यहाँको अवस्थाको बारेमा सुनाउँदै सचेत गराउनुहोला भन्न चाहन्छु ।

यस्तै भारतमा पनि सङ्कट देखिएको छ । काम रोकिएपछि दैनिक ज्यालादारी गर्ने लाखौँको सङ्ख्यामा रहेका नेपाली नागरिकहरु त्यहाँ समस्यामा पर्नुभएको छ । यस्तो अवस्थामा जो जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित बसिदिनुहोला । सरकारले गर्ने सहयोग हामीले गर्ने नै छौँ । तपाईं जहाँ हुनुहुन्छ त्यहीँ बस्नुभयो भने विभिन्न सहयोगी संस्थाले पनि सहयोग गर्नेछन् ।  

हतारिएर, पैदल हिँडेर र जोखिम मोलेर घर नफर्किनुहोस् । तपाईंले भोगिरहनुभएको समस्या हामीलाई पनि थाहा छ । यस्तो महामारीको अवस्थामा नआत्तिनुहोला । 

(मन्त्री ज्ञवालीसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत ३०, २०८०

प्रदीप ज्ञवाली

प्रदीप ज्ञवाली नेपाल कम्युनिस्ट पार्टीका नेता एवं परराष्ट्र मन्त्री हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया