कोरोनाको सङक्रमण रोकथाममा पालिका : विदेशबाट फर्कनेको तथ्याँक संङकलनदेखि क्वारेण्टीनको व्यवस्थासम्म

 चैत १६, २०७६ आइतबार १८:३४:५९ | रासस

काठमाण्डौ – पालिकाहरु विदेशबाट फर्कनेलाई होम क्वारेण्टीनमा राख्न र तथ्याँक संङकलन गर्न थालेका छन् । वैदेशिक रोजगारीबाट फर्केकामा कोभिड १९ पोजेटिभ देखिएपछि कोरोनाको सङक्रमण रोकथामका लागि धेरैजसो पालिकाले आफ्नो पालिकामा विदेशबाट फर्कनेको तथ्याँक राख्न र होम क्वारेढटीनमा राख्न थालेका हुन । 

लमजुङमा चैत १ गते यताविदेशबाट फर्किएका २५७ जनालाई होम क्वारेण्टीनमा राखिएको छ । विदेशबाट फर्किएकामा कोरोना भाइरसको सङ्क्रमणको सम्भावना हुने भएकाले सुरक्षितरूपमा होम क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनुभयो ।

उहाँका अनुसार, होम क्वारेन्टाइनमा बसेकामध्ये बेँसीशहर नगरपालिकामा ४६, मध्यनेपाल नगरपालिकामा १६, राइनास नगरपालिकामा ४५, दूधपोखरी गाउँपालिकामा १९, दोर्दी गाउँपालिकामा २०, सुन्दरबजार नगरपालिकामा ६०, मस्र्याङ्दी गाउँपालिकामा ४८ र क्वहोलासोथर गाउँपालिकामा तीन जना होम क्वारेन्टाइनमा रहेका छन् । जिल्लाका आठै पालिकामा जनप्रतिनिधिले वडा वडाबाट विवरण सङ्कलन गरिरहेका छन् । 

त्यस्तै विदेशबाट फर्किएका २६ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । रोजगारीका लागि भारत, कतारलगायतका देशमा गएर फर्किएका २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो । यही चैत १ गते देखियता विदेशबाट आएकामध्ये २६ जनालाई विभिन्न स्थानीय तहले जिल्लामा निर्माण गरिएको विभिन्न सेल्फ क्वारेन्टाइनमा राखेका हुन् । 

सरकारले लागू गरेको लकडाउनको पूर्णरूपमा सफल बनाउन र कोरोना फैलिन नदिन उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो। उहाँले भन्नुभयो, ‘अत्यावश्यक सेवाबाहेकका काममा हिँडडुल गर्न कडाइ गरिएको छ ।’

पाँचथरमा पनि विदेशबाट फर्किएका क्वारेण्टीनमा

पाँचथरमा पनि सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न विदेशबाट फर्किएकालाई पालिकास्तरमा निर्मित क्वारेण्टीनमा राख्न शुरु गरिएको छ । चैत महिनाभित्र विदेशबाट नेपाल आएका व्यक्तिको विवरण पालिकाले सङ्कलन गरेका थिए । 

सङ्कलित विवरणका आधारमा शनिबारबाट क्वारेण्टीनमा राख्ने काम शुरु भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख एवं कोभिड–१९ जोखिम न्यूनीकरण एवं समन्वय समितिका सूचना अधिकारी नारदमुनि सुवेदीले जानकारी दिनुभयो । जिल्लाका स्थानीय तहहरुले शुक्रबारसम्ममा १२९ व्यक्ति विदेशबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए । शनिबारबाट प्राप्त विवरणका आधारमा क्वारेन्टाइनमा राख्ने काम शुरु गरिएको तथा थप व्यक्तिको विवरण सङ्कलन गर्ने काम जारी रहेको सुवेदीले बताउनुभयो ।

शनिबार साँझसम्म सबैभन्दा बढी याङवरक गाउँपालिकामा १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै हिलिहाङमा सात, कुम्मायकमा तीन, मिक्लाजुङमा एक र फिदिम नगरपालिकामा चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । यसअघि विदेशबाट आएका यहाँका दुई जनालाई मोरङको मिक्लाजुङमा रहेको क्वारेण्टीनमा पठाइएको थियो ।

 फिदिमले बनायो द्रूतकार्य टोली

फिदिम नगरपालिकाकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण, सम्भावित सङ्क्रमितको पहिचान, पूर्वसतर्कता तथा प्रतिकार्यका लागि द्रूतकार्य टोली गठन गरेको छ । नगरपालिकाको स्वास्थ्य एकाइका प्रमुखको संयोजकत्वमा गठित उक्त टोलीले शङ्कास्पद र सेवा चाहिने बिरामीलाई सचेत गराउने, उपचार, उद्धार एवं उपल्ला निकायमा सिफारिश गर्नेछ ।

नगरपालिकाभित्र क्वारेन्टाइन तथा सेल्फ क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको रेखदेख गर्ने जिम्मा पाएको उक्त टोलीलाई सघाउन सात सदस्यीय स्वयंसेवक समितिसमेत गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले बताउनुभयो ।

 कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न फिदिम नगरपालिकाले शनिबारबाट विलिपिङ पाउडर छर्किन शुरु गरेको छ । अस्पताल, क्वारेण्टीन निर्माण भएका स्थल, भीडभाड हुने तथा फोहर जम्मा हुने क्षेत्रमा उक्त पाउडर छर्किन थालिएको हो ।

रुकुमपूर्वमा विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन

रुकुमपूर्वका पालिकाले विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन शुरु गरेका छन् । 

पछिल्लो एक महिनाको अवधिमा विदेशबाट गाउँ फर्किएका व्यक्तिको तथ्याङ्क सङ्कलन शुरु गरिएको भुमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विदेशबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलनका लागि गाउँपालिका भित्रका सम्बन्धित वडा कार्यालयका जनप्रतिनिधि र कोरोना जोखिम रोकथामका लागि गठित वडास्तरीय समन्वय समिति र गाउँपालिकस्तरीय समन्वय समितिलाई जिम्मा दिएको छ ।

कोरोना भाइरसको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि पछिल्लो एक महिनामा विदेशबाट फर्किएकाहरुको विवरण सङ्कलन गर्न लागिएको अधिकृत श्रेष्ठले बताउनुभयो ।

विदेशबाट आएका सबैलाई अनिवार्य स्वास्थ्य परिक्षण गर्ने, क्वारेण्टीनमा र होम क्वारेण्टीनमा बस्न भनिएको छ । विदेशबाट आएर कोही लुकिछीपी गाउँघरमा बसिरहेको थाहा पाएमा तत्काल प्रहरी कार्यालयमा खबर गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया