घोराही बजारमा दैनिक उपभोग्य वस्तुको ‘होम डेलिभरी’

 चैत १७, २०७६ सोमबार ९:४९:२५ | हेमराज शर्मा
unn.prixa.net

दाङ –कोरोना भाइरसको  सङ्क्रमणबाट बच्न दाङको सदरमुकाम घोराही बजार आज सोमबारदेखि पूर्णरुपमा बन्द  गरिएको  छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ को विपत् व्यवस्थापन समितिको आइतबार बेलुकी बसेको बैठकले घोराही बजारलाई चौबिसै घण्टा ‘लकडाउन’ गर्ने र दैनिक खाद्यवस्तु घरघरमा पुर्याउने निर्णय गरेको छ । 

बैठकले उद्योग वाणिज्य सङ्घ दाङसँगको समन्वयमा दाल, चामल, नुन र तेललगायतका दैनिक उपभोग्य वस्तु आमनागरिकको घरमै पुर्याउने व्यवस्था पनि मिलाएको छ । 

दैनिक उपभोग्य वस्तु खरिद गर्न प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म पसलहरु सञ्चालन गर्दा बजारमा अनावश्यक भिडभाड भएको र यसले सङ्क्रमणको जोखिम बढेको भन्दै बजार पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको हो ।  

निर्णयअनुसार आजदेखि सबै खाद्य पसलहरु पूर्णरुपमा बन्द भएको र उद्योग वाणिज्य सङ्घले घरघरमा सामान पुर्याउन सुरु गरेको छ ।

समितिका संयोजक एवं वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा बसेको बैठकमा नगरप्रमुख नरुलाल चौधरीसहित राजनीतिक दल र विभिन्न सरोकारवालाहरुको उपस्थिति थियो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया