मदन भण्डारी राजमार्गमा काम गर्ने ३५० मजदूर अलपत्र

 चैत १७, २०७६ सोमबार १८:४०:० | उज्यालो सहकर्मी
unn.prixa.net

उदयपुर - सरकारले घोषणा गरेको लकडाउनका कारण मदन भण्डारी राजमार्ग निर्माणमा कार्यरत मजदूरहरु बिचल्लीमा परेका छन् ।

मदन भण्डारी राजमार्गको उदयपुरदेखि सिन्धुलीको भिमान खण्डमा कार्यरत झण्डै तीन सय ५० मजदूर बिचल्लीमा परेका हुन् । जेडआईईसी शर्मा लामा जेभीले काममा लगाएका मजदूरहरु एक हप्तादेखि बेवारिसे अवस्थामा सडकमै रहेका छन् । 

‘लक डाउनले गर्दा साइटमा काम भएको छैन’, काठमाण्डौ घर भएका मजदूर शेरबहादुर तामाङ्गले भन्नुभयो, ‘यहाँ काम पनि छैन, घर जान पनि पाइएन ।’ सरकारले घरसम्म पुर्याइदिने व्यवस्था गरिदिन उनीहरुले माग गरेका छन् । 

मजदूर शिविरमा २३ जिल्लाका ३४७ जना रहेको लामा शर्मा जेभिका ईन्जिनियर सिताराम दाहालले बताउनुभयो । 
‘सबैभन्दा बढी बर्दिया जिल्लाका रहेका छन्’, ईन्जिनियर दाहालले भन्नुभयो, ‘दाङ्ग जिल्लाका ५६, कैलालीका ५३, दोलखाका २३ र सल्यानका ३० जना मजदूरहरु बाटोमा रहेका छन् ।’

अलपत्र परेका मजदूरहरुलाई घरसम्म पुर्याउने जिम्मेवारी कम्पनीको भएकाले प्रशासनसँग समन्वय गरी घर पुर्याउने व्यवस्था गरिने दाहालले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराएमा आजै सवारी व्यवस्था गरेर मजदुरको घर घर पुर्याउने तयारी गरिएको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया