बार्सिलोनाका खेलाडीले तलबको ३० प्रतिशत मात्रै बुझ्ने

 चैत १८, २०७६ मंगलबार ७:५०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बार्सिलोनाका खेलाडीले तलबको ७० प्रतिशत रकम दान गर्ने भएका छन् । क्लबमा काम गरिरहेका कर्मचारीहरुलाई निरन्तर पारिश्रमिक दिलाउनका लागि खेलाडीहरुले यो निर्णय गरेका हुन् ।

कप्तान लियोनल मेस्सीले क्लबलाई सहयोग गर्नका लागि एउटा ‘फर्मुला’ खोजी गर्दा केही ढिलो भएको प्रतिक्रिया दिए ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण स्पेनमा अहिलेसम्म सात हजारभन्दा धेरैको ज्यान गएको छ भने सङ्क्रमित हुनेको सङ्ख्या पनि भयावह छ । त्यहाँ अहिलेसम्म ८७ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण देखिइसकेको छ । 

एक विज्ञप्ति प्रकाशित गर्दै बार्सिलोनाका कप्तान लियोनल मेस्सीले भने, ‘यस्तो समयमा क्लबलाई सहयोग गर्न सधैँ तत्पर छौँ । क्लबलाई सहयोग गर्न चाहन्छौँ । क्लबलाई प्रभावकारी ढङ्गले सहयोग गर्ने मौकाको खोजी गरेर मात्र घोषणा गरेका हौँ ।’

खेलाडीसँगै क्लबका बोर्ड अफ् डाइरेक्टर, खेलकुद सम्बन्धित कर्मचारी र बास्केटबल टिमले पनि आफ्नो पारिश्रमिक घटाउनेछन् ।

यसअघि इटालियन क्लब युभेन्टसका खेलाडी र प्रशिक्षक माउरिजियो सार्रीले चार महिना पारिश्रमिक नलिने घोषणा गरेका थिए । 

यस्तै जर्मन क्लब बायर्न म्युनिक र बोरुसिया डोर्टमण्डका खेलाडीले पनि आफ्नो पारिश्रमिक नलिने घोषणा गरिसकेका छन् ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया