‘लकडाउन’को सदुपयोगः मकै छर्नेदेखि किताब पढ्ने र कुलतबाट छुटकारा पाउनेसम्म

 चैत १८, २०७६ मंगलबार १८:३५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस नामक महामारी दुई सय देश र दुई वटा पानीजहाजमा फैलिसकेको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन विभिन्न देशले ‘लकडाउन’ घोषणा गरेका छन् । ‘लकडाउन’को समयमा मानिसहरुले आफू र आफ्नो परिवारको स्वास्थ्यका लागि आफूलाई घरमै सीमित गरिरहेका छन् । त्यसमध्ये अधिकांशले घरको काम गर्ने, किताब पढ्ने र साहित्य लेख्नेलगायत अनेकौं कार्यहरु गरिरहेका छन् । 

उज्यालोको फेसबुक पेजमा राखिएको प्रश्नमा प्रतिक्रिया जनाउनेहरुले आफूलाई घरभित्रै सीमित गरिरहेको र सम्भव भएसम्म घरभित्रकै काममा व्यस्त भइरहेको बताएका छन् । ‘लकडाउन’ कसैको स्वार्थको लागि घोषणा भएको नभई सबै नागरिकको जीवन र स्वास्थ्यसँग जोडिएको विषय भएकोले कसैले हेलचेक्र्याइँ गर्न नहुने उनीहरुको सुझाव छ ।

सरकारले घोषणा गरेको ‘लकडाउन’लाई दीपक ढकाल 'गोर्खाली'ले घरमै बसेर पालना गरिरहनुभएको छ । यो अवधिमा उहाँ नयाँनयाँ किताब पढ्न र खेतबारीको काममा तल्लीन हुनुहुन्छ ।

लेखराज चाम्लिङ राई पनि किताब पढेर र कोरोनाबारे सर्वसाधारणलाई जानकारी गराएर समय बिताउँदै हुनुहुन्छ । यतिखेर घरमै बसेर सरकारलाई सघाइयो भने इटली, स्पेन र अमेरिकालगायत देशकोजस्तो अवस्था बेहोर्न नपर्ने उहाँको बुझाइ छ ।

मेनका नेपालले ‘लकडाउन’ सदुपयोग गर्दै पाठ्यक्रमको पढाइलाई अलि धेरै समय दिनुभएको छ । ‘लकडाउन’को कारण समयमै परीक्षा हुन नसकेकोले घरको कामसँगै पढाइलाई थप प्राथमिकता दिएको उहाँको भनाइ छ ।

चिरञ्जीवी काफ्लेले यसअघि पढ्न नभ्याइएका पुस्तकहरुलाई निकाल्न थाल्नुभएको छ । पहिले पल्टाउन नभ्याइएका पुस्तक पढ्ने, चलचित्र हेर्ने र सामाजिक सञ्जालमा महत्त्वपूर्ण टिप्पणी गर्नेलगायतका काम गरेर काफ्लेको दैनिकी बितिरहेको छ ।

ठाकुरसिंह गुरुङ अहिले एकान्तबासमा बसेर कविता र गजललगायतका साहित्य सिर्जना गर्दै हुनुहुन्छ । कुनै काम गर्नेबित्तिकै साबुनपानीले हातमुख धोइहाल्ने र घरबाहिर धेरै ननिस्कने गर्नाले कोरोनाको सङ्क्रमणबाट बच्न सकिने गुरुङ बताउनुहुन्छ ।

टेक थापाले कोरोना भाइरसविरुद्ध कुनै देशले ‘भ्याक्सिन’ र औषधी पत्ता लगाउन सक्यो कि सकेन, वैज्ञानिकहरुले के कस्ता अध्ययन र अनुसन्धान गरिरहेका छन् भन्नेबारे निकै ध्यान दिएर सञ्चारमाध्यमलाई नियालिरहनुभएको छ । वैज्ञानिकहरुले गरिरहेको खोज र अनुसन्धानले तत्कालै सफलता मिलोस् भन्ने उहाँको कामना छ ।

सियाराम चौधरी अहिले मलेसियामा हुनुहुन्छ । उहाँले काम गर्ने कम्पनी मार्च १८ तारिखदेखि बन्द भएको छ । उहाँलगायत उहाँका सबै साथी सेल्फ क्वरेण्टीनमा बस्नुभएको छ । मलेसिया सरकारले अप्रिल १४ सम्म ‘लकडाउन’ घोषणा गरेकोले उहाँले विश्वभरका घटनालाई नियाल्न उज्यालो रेडियो र उज्यालो अनलाइनलाई सारथि बनाउनुभएको छ ।

दिनभर काम गरेर बिहान बेलुकाको छाक टार्ने परिवारहरुलाई ‘लकडाउन’ले निकै सास्ती दिइरहेको भगन्त लिम्बु बताउनुहुन्छ । त्यस्ता वर्गका लागि विशेष व्यवस्था सरकारले गर्नुपर्ने उहाँको भनाइ छ ।

लक्ष्मणबहादुर सुनार भारतको मुम्बईमा रोजगारीका लागि पुग्नुभएको थियो । ‘लकडाउन’को कारण उहाँले न काम गर्न पाउनुभयो, न त नेपाल नै आउन पाउनुभयो । यो अवधिलाई उहाँले धार्मिक पुस्तक अध्ययन गरेर र स्वास्थ्यमा विशेष ध्यान दिएर सदुपयोग गरिरहनुभएको छ ।

पञ्चदेव भट्टले ‘लकडाउन’मा सूचना र प्रविधिसम्बन्धी विभिन्न भिडिओ तयार गर्दै हुनुहुनुन्छ । सुवास खनालले यस अवधिमा शिरीषको फूल, सेतो धर्ती, सोच र पल्पसा क्याफे गरी ४ वटा किताब पढिसक्नुभएको छ । थप ५ वटा पुस्तक पढ्ने सूची उहाँले तयार पार्नुभएको छ ।

शंकर भट्टराई यो समयलाई केही न केही गरेर व्यवस्थापन गर्नुपर्ने र सुतेर दिन बिताउन नहुने पक्षमा हुनुहुन्छ । समयको सदुपयोगका लागि घाँस काट्ने काममा उहाँले आफूलाई व्यस्त बनाउन थाल्नुभएको छ ।

यो दाउरा काट्ने, खेतबारीमा मकै छर्नेलगायतका कृषिजन्य काम गर्ने समय हो । पाँचथरका किरण पौडेल पनि यस्तै काममा व्यस्त हुनुहुन्छ । जयराम नेपालीले पनि खेतबारीमा काम गर्दै समय बिताइरहनुभएको छ ।

गोविन्द गैरेले यो समयलाई गलत बानी त्याग्ने समयको रुपमा लिनुभएको छ । विभिन्न कुलतबाट छुटकारा पाएर र विगतका कमजोरी मूल्याङ्कन गरेर आउँदा दिनहरु उज्ज्वल बनाउनुपर्ने उहाँको सोच छ ।

सरला घिमिरेले आफ्नो जीवनमा भएका वा भोगिएका घटनाक्रमलाई कागजमा उतार्ने धेरै पहिलेदेखि जमर्को गर्दै हुनुहुन्थ्यो । तर सम्भव भइरहेको थिएन । अहिले ‘लकडाउन’को समयमा त्यो अवसर जुरेकोले जीवनका भोगाइहरु लेख्न थालेको घिमिरेको भनाइ छ ।

भक्त बिसीले खेतबारीमा बर्खे आलु लगाएर आमाबुवालाई सहयोग गर्दै हुनुहुन्छ । हुमराज भुसाल कोरोनाको सङ्क्रमणले विश्व र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावबारे सोधमूलक लेख लेख्ने तयारीमा जुट्नुभएको छ ।

यसरी देश र विदेशमा रहेका नेपालीहरुले ‘लकडाउन’को समयमा घरभित्रै बसेर सम्भव भएसम्मका कामहरु गरिरहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया