सङ्क्रमण फैलिन नदिन क्वरेन्टीनमा बस्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिने

 चैत १८, २०७६ मंगलबार १७:५२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि अनिवार्य रुपमा क्वरेन्टीनमा बस्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने भएको छ । 

कोरोना सङ्क्रमणको पछिल्लो अवस्था हेरेर सरकारले अनिवार्य रुपमा क्वरेन्टीनमा बस्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने रणनीति लिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले सङ्क्रमण फैलावटको प्रकृति हेरेर सरकारले अनिवार्य क्वरेन्टीनको व्यवस्था कडाइका साथ पालना गराउने विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

हाल देखिएका संक्रमितहरु सबै मुलुकभित्रका नभई बाहिरबाट आएका व्यक्ति भएको र उनीहरुबाट परिवार लगायत नजिकको सम्पर्कमा आएका अन्यमा सरेको नदेखिएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले विदेशबाट आएकालाई अनिवार्य १४ दिन क्वरेन्टीनमा राख्न सकेमा सङ्क्रमण फैलनबाट सजिलै रोक्न सकिने बताउनुभयो ।

त्यसैगरी शंकास्पदहरुको नमुना परीक्षणको दायरा बढाउनुको साथै अस्पतालहरुको व्यवस्थापन तयारी, फिभर क्लिनिक, आवश्यक जनशक्ति र व्यक्तिगत सुरक्षा सामग्रीको पर्याप्ततालाई पनि सरकारले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

उहाँले सङ्क्रमण रोक्नका लागि लकडाउन नै प्रभावकारी उपाय भएकाले लकडाउलाई प्रभावकारी बनाउने तर्फ सरकार कडा रुपमा प्रस्तुत हुने बताउनुयो । कोभिड १९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गरेका आदेशको प्रभावकारी कार्यान्वयन गराउन गठन भएको कोभिड १९ क्राइसिस म्यानेजमेण्ट सेन्टर (निर्देशक समिति)ले  विभिन्न ४ वटा समिति बनाएर काम सुरु गरिसकेको पनि उहाँले जानकारी दिनुभयो ।

पाटन र वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तीनै जना बिरामीको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिदै उहाँले ज्वरोका बिरामी देख्नेबित्तिकै नडराउन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । उहाँले ज्वरोका बिरामीले आवश्यक उपचार नपाउँदा जटिल अवस्था श्रृजना हुनेतर्फ सजग हुन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ज्वरोको बिरामी देख्नेबित्तिकै डराउने प्रवृत्ति रहेको छ । ज्वरोका बिरामीलाई नहेरिदिंदा थप जटिलतामा जाने र मृत्यु पनि हुन सक्ने हुन्छ । त्यसैले ज्वरोको बिलाई नहेर्ने काम नगरिदिनुहुन अनुरोध छ । ज्वरो लगायत कोरोनाका लक्षण देखिएका बिरामीलाई अस्पतालहरुले नहेर्ने विषयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यन्तै गम्भीरता पुर्वक हेरेको छ ।’

उहाँले हरेक प्रदेशमा १ हजार ३ सय देखि २ हजार ५ सय सम्म पीपीई मौज्दात रहेको तथा स्वास्थ्य सेवा विभागमा पनि यथेष्ट मात्रामा पीपीई मौज्दात रहेकाले उपचारमा कुनै कमी नहुने पनि स्पष्ट पार्नुभयो ।

उहाँले कोरोना भाइरस सङ्क्रमणका नया आयाम तथा उपचार पद्धतिमा अपनाउनुपर्ने सर्तकता लगायत आवश्यक प्राविधिक परामर्श लिनका लागि पाटन अस्पतालबाट छिमेकी मुलुकमा रहेका प्राविधिकहरुसंग टेलिकन्फरेन्स गर्ने कामको पनि सुरुवात भएको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार, कोरोना सङ्क्रमणको स्वाव परीक्षण गर्नका लागि प्रदेशहरुमा प्रयोगशाला विस्तार हुने क्रममा रहेको  छ । पोखरामा परीक्षण सुरु हुने क्रममा,धनगढीमा आवश्यक समान पुगेको, बुटवल र सुर्खेतमा जाने क्रममा र जनकपुरमा जादै रहेको तथा हेटौडामा त्यहाँ रहेकै मेसिन प्रयोग गर्ने गरि आवश्यक सामान पठाईएको छ ।

प्रवक्ता देवकोटाले मंगलबार सम्म १ हजार ६० वटा नमुना परीक्षण गरिएको ,टेकु अस्पतालमा १० जना सहित सबै प्रदेशमा गरि ७७ जना आइसोलेसमा राखिएको र आइसोलेसनमा रहेका सबै बिरामीको स्वाव परीक्षण गरिने जानकारी दिनुभयो । अहिले सम्म कोरोना सङ्क्रमण देखिएका मध्ये २ वटा पोजेटिभ केसको कन्ट्रयाक्ट ट्रेसिङ सकिएको र पछिल्लो २ वटाको पनि ८० प्रतिशत काम सकिएको जानकारी पनि उहाँले दिनुभयो ।

स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले व्यक्तिगत सुरक्षा सामाग्रीको सही ढंगले प्रयोग गर्न चिकित्सकहरुलाई आग्रह गर्नुभयो । पीपीई लगाएर स्वास्थ्यकर्मीले सामूहिक तस्वीर खिचाएको फोटो सामाजिक सञ्जालमा आएको उल्लेख गर्दे उपचारमा अत्यन्तै महत्वपूर्ण सामग्रीको गतल ढंगले प्रयोग नगर्न पनि उहाँले सुझाव दिनुभयो ।

५ मिनेटमा नै कोरोना परीक्षण गर्न सकिने भन्दै प्रचार गरिएको र्यापिड टेस्ट किट विश्वसनिय नभएको भन्दै विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्नु भनेर निर्देशन दिएको उल्लेख गर्दै उहाँले त्यस्ता भ्रमपुर्ण प्रचारमा विश्वास नगर्न पनि आग्रह गर्नुभयो ।

कोरोना सङ्क्रमणबाट बच्चका लागि लकडाउन गरिएको समयमा खेतीपाती गर्ने कि नगर्ने भन्ने दुविधाका कुरा आएको उल्लेख गर्दै उहाँले सामाजिक दुरी कायम गरेर खेतीपाती, घाँसपात र गाईवस्तु चराउन मिल्ने स्पष्ट पार्नुभयो । चिकित्सक र नर्सलाई घरपटीहरुले कोठा छोड्न भनेको भन्ने सुन्नमा आएको भन्दै उहाँले त्यस्तो भएमा स्थानीय प्रशासनलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया