‘कोरोनाको निहुँमा अरु रोगका बिरामीको उपचार नगर्ने डाक्टर र अस्पताललाई कारबाही हुन्छ’

 चैत २१, २०७६ शुक्रबार ११:३५:५४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले ठाउँठाउँमा क्वरेण्टीन, विभिन्न अस्पतालमा आइसोलेसन वार्ड र कोरोना विशेष अस्पताल स्थापना गरेको छ । ती अस्पतालमा कोरोनाको आशङ्का भएका र कोरोना सङ्क्रिमितको उपचार भइरहेको छ । तर अरु रोगका बिरामी भने अहिले आपत्मा छन् । विशेषगरी ज्वरो र निमोनियाका बिरामीलाई कोरोनाको आशङ्कामा अस्पतालहरुले भर्ना लिन मानेका छैनन् ।

अस्पतालको गैरजिम्मेवार र अमानवीय कामले ज्वरो र निमोनियाका बिरामीको ज्यान गइरहेको छ । बिरामी र आफन्तको हारगुहार अस्पतालहरुले सुनिरहेका छैनन् । यसै विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटासँग अर्जुन पोख्रेलले गर्नुभएको सङ्क्षिप्त कुराकानी :

अस्पतालहरुले उपचार गर्न नमान्दा ज्वरो र निमोनियाका बिरामीको ज्यान गइरहेको कुरा मन्त्रालयले थाहा पाएको छ कि छैन ?

मन्त्रालयलाई यो कुरा मज्जाले थाहा छ । हामीले ४÷५ दिनअघि नै विज्ञप्तिमार्फत उपचार नरोक्न भनेका छौं । मन्त्रालयमा हरेक दिनजसो हुने फेसबुक लाइभमार्फत पनि कोरोनाको आशङ्कामा ज्वरो र निमोनियाका बिरामी नजाँचेको मन्त्रालयबारे गम्भीर ध्यानाकर्षण भइसकेको जनाएका छौं । 
अरु रोगहरुमा पनि ज्वरो आउन सक्छ । ज्वरोका बिरामी देख्नेबित्तिकै कोरोनाको आशङ्कामा नहेर्ने विषय गम्भीर लापरबाही हो । यस्तो गर्ने विभिन्न अस्पतालसँग हामीले कुरा गरिरहेका छौं । कसले कसरी किन गर्यो भन्ने कुराको अनुसन्धान पनि भइरहेको छ । 

तपाईंहरुले नियमित बिरामीलाई अस्पताल नजान भन्नुभएको छ । यसले पनि अस्पतालहरुले अन्य रोगका बिरामी नहेर्न बहाना पाएका हुन् कि ?

हामीले सामान्य अवस्थाका केस र अहिले अस्पताल नजाँदा फरक नपर्ने केसको लागि मात्रै यस्तो आग्रह गरेको हो ।  ज्वरो आएको केस प्राणघातक पनि हुन सक्छ । सेप्टिसेनिया भएर विभिन्न अङ्ग फेल गराउन पनि सक्छ । शरीरभरि ब्याक्टेरिया फैलिएर बिरामीको ज्यानै जान सक्छ । तर त्यस्ता बिरामीलाई तत्काल उपचार गरेमा निको हुन सक्छ । तर ज्वरो आएको केसलाई हेर्दै हेर्दिन भन्नु गैरजिम्मेवारी र लापरबाही हो । 

तपाईंहरुले विज्ञप्ति जारी गर्नुभयो । पत्रकार सम्मेलनमा निर्देशन दिनुभयो । तर डाक्टर र अस्पतालले टेरेका छैनन् । बिरामीलाई उपचारै गर्दिन भन्नु र अस्पताल बन्द गर्नु भनेको ठूलो अमानवीय काम भएन र ?

यो विषयमा हाम्रो एकदमै ध्यानाकर्षण भएको छ । हामी दिनहुँजसो निजी र सरकारी दुवै क्षेत्रका डाक्टरहरुसँग सम्पर्कमा छौं । उहाँहरुले अब यसो गर्दिनौं भन्नुभएको छ । तर उपचार नगरेका खबर आइरहेका छन् । हामीले अनुसन्धान गछौं । उहाँहरुले लापरबाही गरेको भेटिएमा कारबाही हुन्छ । 

गृह मन्त्रालयको सहयोग लिएर कारबाही गर्नुपर्ने खालका घटना पनि बाहिर आएका छन् । गृहसँग तपाईंहरुको समन्वय भएको छ कि छैन ?

हाम्रो समन्वय भएको छ । उच्चस्तरीय समितिदेखि तलसम्म समन्वय भइरहेको छ । अहिले के स्वास्थ्य मन्त्रालय, के अन्य मन्त्रालय हामी सबै सँगै छौं । डाक्टरहरुले पनि आफ्नो भूमिका र दायित्व सम्झेर काम गर्ने र सरकारले पनि उहाँहरुको मनोबल उच्च राखेर काम गर्नुपर्ने अवस्था छ । 

तपाईंहरुको निर्देशनविपरीत केही अस्पताल र डाक्टरले ज्वरो र निमोनियाका बिरामीलाई घृणा गरिरहेका छन् ?

तपाईंले भनेको एकदमै ठिक हो । ज्वरोको कारण र यसले निम्त्याउने जोखिमबारे चिकित्सकहरुले नबुझेको जस्तो त मलाई लाग्दैन । अहिलेको अवस्थामा कोरोनाको लक्षणमध्ये ज्वरो पनि हुन सक्ला । तर ज्वरो भनेको कोरोना मात्रै होइन । त्यसैले बिरामी हेर्दिन भन्न पाइन्न । किनकी विभिन्न कोरोना विशेष अस्पतालबाट पठाइएका कुनै पनि ज्वरोका बिरामी र मृतकमा कोरोना भेटिएको छैन । 
बरु उहाँहरु कति जना मिर्गौलाको रोगी हुनुहुन्थ्यो । कति जनाका विभिन्न अंगले काम गरेका थिएनन् । कतिपयलाई सेप्टिसेनियाको समस्या थियो । त्यसैले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी कुरा मात्र होइन, एक्सनमै जाँदैछौं ।

केही सरकारी अस्पताल र डाक्टरहरुले पनि अन्य रोगका बिरामीलाई उपचार नगरी फिर्ता पठाएका छन् । उपचार गर्नुपर्छ भन्ने डरले केही डाक्टर बिदामा बसेका छन् । उनीहरुलाई के हुन्छ ?

पीपीईलगायतका सुरक्षा साधनको कारणले गर्दा उहाँहरुले मनोबल गिरेको हो भने हामीले उहाँहरुलाई सबै बन्दोबस्त गरिसकेका छौं । बिमालगायतका व्यवस्था पनि भइसकेका छन् । उहाँहरुको सुरक्षाको ग्यारेन्टी लिन्छौं भनेर भनिरहेका छौं । तर हामीले उहाँहरुको मनोबल उच्च राख्दाराख्दै पनि लापरबाही गर्ने हो भने कारबाहीको विकल्प छैन । 
नेपालको अवस्था नियन्त्रणमै छ । हामीले कल्पना गरेको महामारीको अवस्था आएको छैन । यस्तो अवस्थामा डाक्टरहरुले अन्यौल सिर्जना हुनेगरी काम गर्नुहुन्न । यसले अर्को समस्या सिर्जना गर्न सक्छ । अहिले पूर्ण जिम्मेवारीका साथ उहाँहरु काममा खटिनुपर्छ । 
अन्तिममा मेरो आग्रह छ, डाक्टरहरुको सुरक्षामा सरकारले कुनै कमजोरी गरेको छ भने हामी अझै सुधार्छाैं । आउनुस् बसेर कुरा गरौं । तर कोरोनाको निहुँमा बिरामीको उपचारै गर्दिन भन्नु पेसागत धर्म र कानुनबाहिरको कुरा हो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया