चीन, अस्ट्रेलिया र न्युजिल्याण्ड पुगेका वाइडबडी फर्किए

 चैत २१, २०७६ शुक्रबार १२:१७:४३ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अस्ट्रेलिया र न्युजिल्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन् ।

ग्वाङ्जाओ गएको वाइडबडी त्यहाँबाट मेडिकल सामग्री लिएर आज बिहान ३ बजेतिर र अस्ट्रेलियाबाट आएको अर्को वाइडबडी जहाज बिहीबार राति ११ बजेर १८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिनुभयो ।

ग्वाङ्जाओबाट के–कति सामान ल्याइएको भन्ने यकिन जानकारी आएको छैन । मेडिकल सामग्री लिन निगमको कार्गो उडानको वाइडबडी जहाज बिहीबार बिहान ग्वाङ्जाओ उडेको थियो । यसअघि चैत १६ गते निगमकै वाइडबडी जहाजमार्फत ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याइएको छ । 

त्यसैगरी बुधबार निगमको अर्को वाइडबडी जहाज चार्टर्ड उडानमार्फत अस्ट्रेलिया र न्युजिल्याण्डका नागरिक बोकेर मलेसिया हुँदै अस्ट्रेलियाको शहर ब्रिसबेन पुगेको थियो । 

निगमले अस्ट्रेलिया गन्तव्यमा पहिलो पटक वाइडबडी जहाजले ऐतिहासिक उडान गरेको बताएको छ । निगमको लामो गन्तव्यको यो उडान झण्डै १३ घण्टाको थियो । अहिले दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया