मलेसिया, साउदी र कतारमा नेपाली कोरोनाबाट सुरक्षित, नियम मान्न दूतावासको आग्रह

 चैत २१, २०७६ शुक्रबार १३:३:४६ | उज्यालो सहकर्मी

काठमाण्डौ – खाडीका ६ देश र मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ, तर लाखौं नेपाली रहेका यी देशमा कार्यरत धेरैजसो नेपाली श्रमिक भने अहिलेसम्म सुरक्षित छन् । यूएईमा ८ जना, बहराइनमा तीन जना र कुवेतमा एक जना नेपाली श्रमिकलाई  कोरोनाको सङक्रमण देखिएको छ ।

यूएईमा ८ मध्ये दुई जना निको भइसकेका छन् भने बाँकी ६ जनाको उपचार भइरहेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । कुवेत र बहराइनमा पनि सङ्क्रमितको उपचार भइरको र अवस्था सामान्य रहेको त्यहाँ रहेका नेपाली दूतावासले जनाएका छन् ।

साउदी अरब, कतार र ओमानमा अहिलेसम्म नेपालीमा सङ्क्रमण देखिएको छैन । नेपाली श्रमिकको अर्को मुख्य श्रम गन्तव्य देश मलेसियामा पनि नेपाली श्रमिक सुरक्षित रहेका छन् । नेपालीमा अहिलेसम्म सङ्क्रमण नदेखिएको मलेसियामा रहेको नेपाली दूतावासले उल्लेख गरेको छ । 

साउदीमा कर्फ्यु, धेरैजसो श्रमिक क्वारेण्टीनमा

साउदीको मक्का र मदिना क्षेत्रमा कोरोना सङ्क्रमण बढ्पछि साउदी सरकारले अनिश्चितकालका लागि २४ घण्टे कर्फ्यु लगाएको छ । त्यसैले यी क्षेत्रमा कार्यरत नेपाली श्रमिकलाई अत्यावश्यक अर्थात साउदी सरकारले तोकेको सेवाबाहेक बाहिर ननिस्कन दूतावासले आग्रह गरेको छ ।

रियाद क्षेत्रमा भने स्थानीय समय अनुसार दिउँसोको तीन बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागिरहेको छ । अहिलेसम्म नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण नदेखिएको तथा आउँदा दिनमा पनि सङ्क्रमण हुनबाट बच्न सावधानी र सुरक्षा सर्तकता अपनाउन, कर्फ्युको पालना गर्न साउदीमा रहेको नेपालीलाई दूतावासले अनुरोध गरेको छ । साउदीमा लगभग ४ लाख ५० हजार नेपाली श्रमिक कार्यरत छन् । 

शुक्रबार मध्यान्ह्सम्ममा साउदीमा १ हजार ८८५ जना कोरोना सङ्क्रमित भएका छन । जसमध्ये ३२८ जना निको भएर घर फिरेका छन् भने १ हजार ५३६ जना अस्पतालमा उपचाररत छन् । साउदीमा अहिलेसम्म २१ जनाको कोरोनाका कारण ज्यान गएको छ । 

ओमानमा नेपाली सुरक्षित

ओमानमा अहिले २३१ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ५७ जना निको भइसकेका छन् भने १७३ जनाको अस्पतालमा उपचार भइरहको छ । एक जनाको ज्यान गएको छ । ओमानमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म ओमानमा रहेका नेपाली सुरक्षित छन् । सङ्क्रमण देखिएको छैन । ओमानमा झण्डै २० हजार नेपाली श्रमिक रहेको अनुमान छ । 

कोरोना रोकथामको लागि भन्दै ओमानको जनशक्ति मन्त्रालयले श्रमिकको सङ्ख्या कमी गर्नेदेखि हिँड्डुलमा पनि आंशिक रुपमा प्रतिबन्ध लगाएको छ । अत्यावश्यक र कामको समयमा बाहेक सार्वजनिक स्थलहरुमा हिँड्न पाईंदैन । ओमानका कतिपय ठाउँहरुमा पैदल हिँड्न पनि पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ। कतिपय श्रमिक क्वारेण्टीनमा बसेका छन् भने कतिको काम भइरहेको छ । 

कतारमा पनि नेपाली सुरक्षित

कतारले सार्वजनिक ठाउँहरुमा हिँडडुल गर्न प्रतिबन्ध लगाउँदै कतिपय श्रमिक क्याम्पमा नै क्वारेण्टीन बनाएको छ । अहिलेसम्म कतारमा ९ सय ४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

जसमध्ये ७२ जना निको भएर घर फिरेका छन् ८७४ जनाको अस्पतालमा उपचार भइरहेको छ । कोरोनाका कारण कतारमा अहिलेसम्म तीन जनाले ज्यान गुमाएका छन् । कतारमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छैन । कतारमा झण्डै चार लाख नेपाली कार्यरत छन् । 

कतारले कोरोनाका कारण अप्ठेरोमा परेका श्रमिकको गुनासो सुन्नका लागि छुट्टै हटलाइनको व्यवस्था गरेको छ भने यो अवस्थामा क्वारेण्टीनमा बस्ने श्रमिकलाई पनि आधारभुत तलब र भत्ता तथा निःशुल्क उपचारको व्यवस्था गरेको छ । 

खाडीका देशमा १२ जना नेपाली सङ्क्रमित

खाडीका तीन देश बहराइन, कुवेत र यूएईमा गरी अहिलेसम्म १२ जना नेपाली श्रमिक सङ्क्रमित भएका छन् । जसमध्ये यूएईमा दुई जना निको भइसकेका छन् भने ६ जनाको उपचार भइरहेको छ  ।

यस्तै बहराइनमा सङ्क्रमित तीन जनाको अवस्था सुधारोन्मुख रहेको दूतावासले जनाएको छ । कुवेतमा पनि एक जना नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ। यूएईमा लगभग ३ लाख ५० हजार, बहराइनमा २५ हजार र कुवतेमा ७० हजार नेपाली श्रमिक कार्यररत छन् । 

मलेसियामा पनि नेपाली सुरक्षित 

खाडीका ६ देशको तुलनामा मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या धेरै छ । सरकारी तथ्याँक हेर्ने हो भने मलेसियामा झण्डै पाँच लाख नेपाली कार्यररत छन् । मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढी भए पनि नेपाली श्रमिक भने सुरक्षित छन् ।

कोरोना सङ्क्रमण रोकथामका लागि मलेसियाले १४ अप्रिलसम्म लकडाउन गरेको छ । कतिपय श्रमिकको काम चलिरहको छ भने कतिपय क्वारेण्टीनमा नै बसिरहेका छन् । यो अप्ठेरो परिस्थितीमा क्वारेण्टीनमा बस्नेलाई पनि मलेसियाले आधारभुत लतब र भत्ता दिने बताएको छ । 

नेपाली श्रम बजार रहेको मध्यपूर्वी एसियालाई डब्लूएचओले कोरोना भाइरसको उच्च जोखिमको क्षेत्र भनेको छ । श्रम गन्तव्य मुलुकमा सङ्क्रमणकै कारण नेपाल सरकारले श्रम स्वीकृति रोकेको छ ।

नेपाल प्रवेश गर्न २०२० अप्रिल ३० सम्म रोक लगाइएको छ । पररराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीको जानकारी हरेक दिन लिइरहेको छ । विभिन्न देशका राजदूतसँग भिडियो सम्मेलन गरी सतर्क रही नेपालीको सुरक्षा गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्देशन दिनुभएको छ । 

दूतावास भन्छन् : सम्बन्धित देशले भनेको मान्नु

कोरोना रोकथामका लागि अहिले खाडीका देश कुवेत र साउदीले त करफ्यु नै लगाएका छन् भने कतारले पनि सावैजनिक ठाउँमा जान र भेला हुन प्रतिबन्ध लगाएको छ ।

साथै मलेसियाले पनि लकडाउन गर्दै अत्यावश्यक बाहेक हिँडडुलमा रोक लगाएको छ । कतिपय कम्पनीहरु बन्द हुन थालेका छन् । यस्तो अवस्थामा सम्बन्धित देशले जारी गरेका सुरक्षा सतर्कता अपनाउन र लागू गरेका नियम पालना गर्न दूतावासले आग्रह गरेका छन् ।

कोरोनाका कारण कुनै समस्या, अप्ठेरो परेमा आफू कार्यरत देशमा रहेका नेपाली दूतावासमा सम्पर्क गर्न सकिन्छ भने कोरोनाको लक्षण देखिएमा तोकेको स्वास्थ्य संस्थामा गएर उपचार गर्न सकिन्छ । 

सुरक्षा सतर्कता नअपनाउँदा र जारी गरेको नियम नमान्दा कारबाही हुन्छ । कतारले त यसअघि धेरै नेपालीलाई पक्राउ गरेर नेपाल फिर्ता पठाएको थियो । त्यसैले यो बेला कोरोनाको जोखिमबाट बच्न गन्तव्य देशले जारी गरेका सुरक्षाका उपाय मान्न र क्वारेण्टीनमा बस्न, अत्यावश्यक काम बाहेक बाहिर नहिँड्न दूतावासले आग्रह गरिरहेका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया