उपप्रधानमन्त्री पोखरेलबाट सीसीएमसी सञ्चालनस्थलको अवलोकन

 चैत २१, २०७६ शुक्रबार १८:३२:२७ | रासस
unn.prixa.net

काठमाण्डौ - उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि छाउनीमा स्थापित  सङ्कट व्यवस्थान केन्द्र (सीसीएमसी) सञ्चालनस्थलको अवलोकन गरी कार्य प्रगतिबारे जानकारी लिनुभएको छ ।

रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेललाइ सङ्क्रमित देखिएका बिरामीलाई अस्पतालसम्म लगेर उपचारको व्यवस्थालगायत उक्त रोगको प्रतिकार्यको लागि अत्यावश्यक औषधि उपकरण तथा स्वास्थ्य सामग्रीको आवश्यकताको पहिचान र खरिद प्रक्रियाको सम्बन्धमा प्रस्तुतीकरणमार्फत जानकारी गराइएको थियो ।

सोही प्रस्तुतीकरणको क्रममा लकडाउनको समयमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयको साथै अत्यावश्यक उपभोग्य सामानको आपूर्ति र राहत वितरणलाई प्रभावकारी बनाउने विषयमा समेत जानकारी गरइएको रक्षामन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा उहाँले रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यमा सम्बद्ध सबैले मेहनत र इमान्दारितापूर्वक योगदान पुर्याउन निर्देशन दिनुभएको थियो । कार्यक्रममा प्रधान सेनापति, प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया