व्यंग्य - लकडाउनको फेस : नयाँ देखाउन नमिलेर पुरानो खोज्ने होड !

 चैत २२, २०७६ शनिबार ८:१५:५८ | मिलन तिमिल्सिना
unn.prixa.net

फुर्सद नहुँदासम्म सबैलाई फुर्सदको पर्खाइ थियो । फुर्सद नमिलेको बहाना थियो । फुर्सद नभएर केही गर्न पाइएन भन्ने गुनासो थियोे । फुर्सद भयो भने के के न गर्छु भन्ने लाग्थ्यो । कोही दिनभर सुत्छु भन्थे । कोही आँखा नचिम्लिकन पढ्छु भन्थे । कसैले घरधन्दा मात्रै होइन, देश नै बनाउँछु भनेर फूर्ति लाउँथे । 

तर यी सबै फुर्सद नहुने बेला सोच्ने र भन्ने कुरा थिए । अघिल्लो सातादेखि आजका मितिसम्म दिनभर र रातभर मात्र होइन, हप्तौंभर फुर्सद छ । देशभर लक भएपछि बाहिर जान पाइएको छैन । चिडियाखानाको जनावरजस्तो भित्रै थुनिनुपरेको छ । काम गर्न जानु परेको छैन । बिहान उठेदेखि बेलुका नसुत्दासम्म फुर्सद नै फुर्सद छ । तर फुर्सद भयो भने यो यो गर्छु भनेर सोच्ने र भन्नेहरुलाई चाहिँ फुर्सदमा पनि फुर्सद मिलेको छैन । अझ भनौं फुर्सद धेरै भएको छ ।

फुर्सदै फुर्सद भएपछि मान्छेले दिन, गते, बार, घडी, तिथि, तारिख, चाडपर्व सबै भुल्न थाले । आज पनि हिजोजस्तै, हिजो पनि आजजस्तै । रात पनि दिनजस्तै, दिन पनि रातजस्तै । रातमा त रात परिहाल्यो, दिउँसै पनि मान्छेले रात पार्न थाले ।

पहिले सुत्न नपाएर थाक्नेहरु अहिले सुत्दासुत्दै थाक्न थाले । बसीबसी खान पाए कस्तो हुन्थ्यो भन्नेहरु बरु नखाए नि हुन्छ, हिँड्न पाए कस्तो हुन्थ्यो भन्न थाले । फुर्सदमा किताब पढ्छु भन्नेहरु बरु काममै जान पाए हुन्थ्यो भन्दै किताब पल्टाउन अल्छी मान्न थाले । अनि फुर्सदमा घरको कामदेखि देश नै बनाउँछु भन्नेहरु बरु फुर्सद नभएकै राम्रो भन्न थाले ।

फुर्सद नहुँदा मात्रै फुर्सदको बहाना खोज्नेहरुले यो बीचमा हुने, नहुने सबै काम भ्याइसके । घरमा भएको झुलको प्वाल गनेर सिध्याए, अर्को झुल किनेर गन्न पसल खुलेको छैन । आफ्नो र श्रीमतीको कपालको रौं गनेर भ्याए, अर्को मान्छेको कपाल सुम्सुम्याउन थाल्दा कोरोना सर्ने डर । भातको गाँस र आकाशको तारा गन्न पनि अल्छी लाग्यो । मकै, चामल र भटमासको गेडा गनेर पनि खाइसक्ने बेला भयो । अब के गर्ने ?

अरुबेला फुर्सद हुँदा फेसबुकमा फेस देखाउने काम ठूलो हुन्थ्यो । पोजपोजका फोटो अपलोड गर्दा मज्जै हुन्थ्यो । तर अहिले फोटो देखाउने खालकै छैन । बाहिर निस्कन नपाएर घरमै बस्नु परेकाले मेकअप गर्न पाइएको छैन ।

दाह्री काट्ने, कपाल कोर्ने, सिंगारपटार र मेकअप गर्ने भनेको अरुलाई देखाउनको लागि हो । आफ्नो अनुहार कस्तो छ भन्ने घरका मान्छेलाई राम्रैसँग थाहा छ, देखाउनै परेन । घरकालाई देखाउन नपरेपछि दाह्री काट्ने र मेकअप गर्नै परेन । कतिले दाँत माझ्न पनि छाडिसके, कतिका दाह्री कपाल बढेर झाडीजस्तो भैसक्यो । कसैकसैले त लुगा लगाउन पनि बिर्सिसके ।

कोरोनाबाट बच्न हात धुनु भनेका छन्, मुख धुनु भनेका छैनन् । त्यसैले धेरैले त मुख धुन पनि बिर्सिसके । दाँत, मुख, कपाल, अनुहार नमिलेपछि धेरैका अनुहार हेर्नै नमिल्ने भएको छ । अहिलेको अनुहार फेसबुकमा राख्यो भने कतिले चिन्दैनन्, कतिले फेसबुकमा अनफ्रेन्ड नै गर्न बेर मान्दैनन् । भैरहेको सम्बन्ध पनि बिग्रिएला भन्ने डर । बाहिर गएर पोजपोजको फोटो खिच्न मिलेन, भित्रै बसेर पनि फोटो खिच्न मिल्ने गतिलो अनुहार भएन । अब के गर्ने ?

त्यसै बसेर त भएन, केही न केही त गर्नुपर्यो । त्यसपछि फेसबुकमा फेस देखाउने जमातले नयाँ आइडिया फुराए । अनि मेकअप नगरेको अनुहार देखिन्छ भनेर पुरानो फोटो खोज्ने होड चल्यो । पुरानो फोटो जतिसुकै नराम्रो भयो भने देख्नले राम्रो मान्छन् ।

मेकअप नगरेकै फोटोमा पनि लाइक र कमेन्टको ओइरो लाग्छ । त्यसमाथि कसैका पुराना फोटो त कोरोना भाइरस नै तर्सने खालको पनि हुँदो रहेछ । त्यसैले अरु देशका युवा कोरोनाको औषधि खोज्न थालेको बेला हाम्रा देशका फेसबुके युवा चाहिँ पुरानो फोटो बटुल्न थालेका छन् । लकडाउन अझै लम्बियो भने फेसबुकमा अरु पनि अनुसन्धान र खोजी देख्न पाइएला ।

अन्तिम अपडेट: चैत १२, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • लक्षिन गुरुङ्ग

    April 5, 2020, 4:19 a.m.

    अरु देशका युवाहरु corona virus को औषधि मुलोको अविष्कार तिर लागेको बेलामा नेपाली युवाहरु पुरानो फोटो खोज्दै पोस्ट गर्न तिर लागेको जुन सन्दर्भिक कुरा गर्नु भो यो चाहिँ सत्य कुरा लाग्यो र यो lockdown को समयमा कति भाइ बैनिहरु फुर्सद धेरै भएको कारणले भनम वा धेरै पढेलेखे पछि अति भएर see र +2 मा अवश्य पनि world record नै राख्ने छन फेल भएर ....😀😁

  •  0 Reply

तपाईको प्रतिक्रिया