विद्यार्थीलाई शिक्षा मन्त्रालयको आग्रहः एसईई परीक्षाको नयाँ तालिका ‘लकडाउन’पछि सार्वजनिक हुन्छ, त्रास र दबाबमा नपरी तयारी गर्नुस्

 चैत २२, २०७६ शनिबार १०:३०:२६ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ–यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) निर्धारित मितिमै भएको भए झन्डै ४ लाख ८२ हजार विद्यार्थी अहिले परीक्षाको तनाबबाट मुक्त हुन्थे । परीक्षाको नतिजा आउन कम्तीमा तीन महिना लाग्ने भएकाले विद्यार्थीका दिनहरु ढुक्कसँग बितिरहेका हुन्थे । नतिजा आउने बेलासम्म कतिपय विद्यार्थीको दैनिकी घुमफिर, भेटघाट, नयाँ योजना बनाउने तथा सीप सिक्नेजस्ता अनेक काममा व्यस्त हुन्थ्यो । तर एसईई परीक्षा सुरु हुने अघिल्लो दिन गएको चैत ५ गते सरकारले एकाएक परीक्षा स्थगित गर्यो । 

सरकारको यो निर्णयको कारण विद्यार्थी र अभिभावक अन्यौलमा परे । परीक्षा दिनकै लागि खर्चपर्चको जोहो गरी पोकोपन्तुरो, कापी किताब बोकेर घरदेखि टाढा पुगेका कतिपय विद्यार्थी सरकारकोे निर्णयपछि घर फर्कन बाध्य भए । परीक्षाको केन्द्र तोकिएका विद्यालयमा गरिएको तयारी खल्बलियो । 

परीक्षाको आवश्यक तयारीका लागि सरकारले गरेको खर्च बालुवामा पानी खन्याएसरह भएको छ । मुखैमा परीक्षा स्थगित हुँदा सबैभन्दा बढी मर्का भने विद्यार्थीलाई परेको छ । अर्काे निर्णय नहुँदासम्म स्थगित परीक्षा कहिले होला ? विद्यार्थी, अभिभावक र शिक्षक सबैको चासो बनेको छ । चैत ५ गते बेलुका सरकारले गरेको निर्णयसँगै एसईईसहित यो महिना तय भएका अरु परीक्षा पनि स्थगित भएका छन् । 

सरकारले गएको चैत १० गते देशलाई ‘लकडाउन’ गर्ने निर्णय गरेपछि विद्यार्थी, अभिभावकसहित आमनागरिक घरभित्रै बस्नुपरेको छ । सुरुमा एक हप्ता ‘लकडाउन’ घोषणा गरेको सरकारले फेरि ८ दिन थप गरेको छ । अब फेरि थप नभए चैत २५ गतेसम्म ‘लकडाउन’ हुनेछ । शनिबार ‘लकडाउन’को १२ दिन भैसकेको छ । यसअघि स्थगित भएको परीक्षाको नयाँ तालिका ‘लकडाउन’ खुलेपछि मात्रै आउने भएकोले अहिले घरमै बसेर तयारी गर्न विद्यार्थीलाई शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माको सुझाव छ । नयाँ तालिका कहिले आउँछ ? सरकारले यसअघि घोषणा गरेअनुसार चैत २५ गतेसम्म ‘लकडाउन’ छ ।

‘लकडाउन’ पूर्णरूपले खुलेको कम्तीमा २ हप्ताको अवधिमा नयाँ परीक्षा तालिका आउने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई डर, त्रास र हल्लामा नपरी तयारीमा ध्यान दिन शिक्षा मन्त्रालयका प्रवक्ता शर्माले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘परीक्षाको नयाँ तालिका अहिले नै आउँदैन । त्यसैले अफवाहमा ध्यान नदिई पर्याप्त तयारीमा लाग्नुस् ।’ घरमै बसेर परीक्षाको तयारी गर्दा रेडियो, टेलिभिजन तथा अनलाइन माध्यममा परीक्षाको तयारीका लागि आवश्यक पाठ्यसामग्री उपलब्ध रहेको उहाँले बताउनुभयो । 

सम्भव हुनेले उपलब्ध भएका ती पाठ्यसामग्री हेर्न र सुन्न तथा सम्भव नहुनेले फोनमा शिक्षक तथा साथीहरुलाई सोधेर तयारी गर्न उहाँको सुझाव छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले स्वास्थ्य क्षेत्रका विज्ञसँग सङ्क्रमणको जोखिमबारे परिस्थितिको विश्लेषण गरेर अनुकूल अवस्थापछि आवश्यक निर्णय गर्ने भन्दै शर्माले अहिले घरमै बसेर तयारी गर्नुपर्ने बताउनुभयो ।

एउटा परीक्षा केन्द्रमा तीन सयसम्म विद्यार्थी हुने भएकाले समूहमा निस्कन तथा भेला हुन मिल्ने वातावरण बनेपछि मात्रै परीक्षाको नयाँ तालिका आउने र सार्वजनिक माध्यमबाट जानकारी गराउने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता शर्माका अनुसार नयाँ तालिका र मिति विद्यार्थीलाई घरबाट टाढाको परीक्षा केन्द्र पुग्न, बस्ने व्यवस्था मिलाउन र अरु बन्दोबस्त गर्न पुग्नेगरी तय हुनेछ । 

परीक्षाको आधिकारिक तालिका र मिति पछि तय हुने भएकोले भ्रममा नपर्न उहाँको आग्रह छ । ‘नयाँ तालिका शिक्षा मन्त्रालय र परीक्षा बोर्डले समन्वय गरी सार्वजनिक गर्नेछन्,’ उहाँले भन्नुभयो, ‘अहिले पहिले पढेका विषय दोहोर्याउने, प्रविधिको प्रयोग गरेर नबुझेका कुरा सिक्ने र शिक्षकसँग फोनमा सोध्ने गरेर विद्यार्थीहरुले परीक्षाको पूर्ण तयारी गर्नुपर्छ ।’ विद्यार्थीलाई अनावश्यक तनाव नलिन र अभिभावकले पनि परीक्षा तयारीमा रहेका आफ्ना बालबालिकालाई तनाव नदिन उहाँको आग्रह छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया