काेराेना परीक्षणलाई व्यापक बनाउन कांग्रेसकाे अनुराेध

 चैत २२, २०७६ शनिबार १९:३२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (काेभिड १९) को परीक्षण व्यापक बनाउन सरकारलाई अनुरोध गरेको छ ।

कैलालीमा घरमै बसेकी महिलालाई पनि कोरोना देखिएकाले अब नेपाल कोरोना गम्भीरताको दोस्रो चरणमा पुगेको भन्दै कांग्रेसले कुनै साइत नकुरिकन परीक्षणलाई विस्तार गर्न आग्रह गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा 'हाम्रो गम्भीर सतर्कता नपुगेका कारण घरमै रहेकी महिला सङ्क्रमित बन्न पुगेकाले अब यसअघि सङ्क्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको परीक्षण तत्काल गर्न' माग गरिएको छ ।

विदेशबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रुपमा क्वरेण्टीनमा बस्न कडा सूचना प्रकाशित गर्न तथा त्यसको नियमन स्थानीय प्रशासनमार्फत पालिकाहरुले गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अब सबैखाले ढिलासुस्ती र अकर्मण्यता त्यागेर व्यापक सतर्कता, व्यापक परीक्षण र व्यापक उपचार बढाउने क्रममा सरकार युद्धस्तरमा प्रवेश गर्नुपर्ने र समयको गम्भीरता अनुरुप गति बढाउन पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०७७

तपाईको प्रतिक्रिया