अस्पताल नै जाँदैनन बिरामी,  चिकित्सक भन्छन- अस्पताल आउनुस्, रोग लुकाएर नबस्नुस्’

 चैत २३, २०७६ आइतबार १९:३४:३१ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनमा पछिल्लो समय अस्पताल जानेको संख्या निकै कम छ । 

डाक्टरले बिरामी छुँदैनन्, अस्पतालले भर्ना लिँदैनन् र गेटबाटै फर्काउँछन् भन्ने हल्लाका कारण बिरामी अस्पताल नजाने गरेको पाइएको छ । 

सामान्य ज्वरो, रुघाखोकी लागेमा सिधै कोरोना अस्पताल लगेर आइसोलेसनमा १४ दिन राख्ने गरेको भ्रमले समेत बिरामी अस्पताल नजाने गरेको पाइन्छ ।

जिल्लाका ठूला अस्पतालहरु प्राय खाली छन् । कोरोनाको हल्ला नहुँदासम्म जिल्लाका अस्पतालमा बिरामीको चाप हुनेगरेको थियो । लकडाउन सुरु भएपछि नयाँ बिरामी अस्पताल जाने क्रम घटेको र अस्पतालमा भएका बिरामी पनि डिस्चार्ज मागेर सबै घर घरमा रहेको अवस्था छ । 

केही अति संवेदनशील बिरामी वाहेक अहिले कुनै पनि अस्पतालमा नयाँ बिरामी देखिँदैनन । 

जिल्लामा केन्द्रीय स्तरको भरतपुर अस्पताल, २ निजी मेडिकल कलेज, २० निजी अस्पताल, ३ सरकारी अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी,  २५ वटा ग्रामिण शहरी स्वास्थ्य केन्द्र र ५ वटा सामुदायीक इकाई रहेका छन् । 

श्रोतसाधनको अभावले यो समयमा जोखिम मोलेर उपचारको काम गर्न नसकिने बताउदै केही निजी मेडिकलले अहिले काम गरिरहेका छैनन् । जिल्लाका अस्पतालमा एकैपटक एक्कासी बिरामी कम हुनुलाई चिकित्सकहरुले थप जोखिमको अवस्था मानेका छन् ।  

कोरोना संक्रमणको डरले बिरामी भएकाहरु सकेसम्म अस्पताल जान चाहदैनन् । तर डरकै कारणले रोग पालेर बसिरहँदा दीर्घकालीन समस्या पर्न सक्ने भन्दै समयमा सजग हुन चिकित्सकको सुझाब छ ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले रोग लुकाएर घरमै बस्नु थप जोखिम हुने बताउँदै कोरोनाको डर हृदयाघात भन्दा चर्को जस्तो देखिएको बताउनुभयो । 

घरमा नै बसेर परामर्शमा औषधि खाएर हुने बाहेक जटिल हुन सक्ने खालका बिरामीहरुलाई अस्पताल आउन आग्रह गर्दै उहाँले उच्च जोखिमका रोग पालेर नबस्न र अस्पताल आउनै पर्ने बिरामीले डर नमानी आउनुपर्ने बताउनुभयो । 

भरतपुर अस्पतालमा गत बर्ष यो समयमा प्रतिदिन एक हजार भन्दा बढी बिरामी आएको तथ्यांक भए पनि अहिले प्रतिदिन एक सयको हाराहारीमा मात्र बिरामी आउने गरेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनुभयो । 

अन्य अस्पतालमा पनि बिरामी कम आउने गरेका छन् । चितवन मेडिकल कलेजका नर्देशक डा. दयाराम लम्साल आफूहरुले बिरामी हेरिरहेको भए पनि बिरामी नै आउन छाडेको बताउँदै प्रतिदिन सय जना नयाँ बिरामी पनि मुस्किलले आउने गरेको जानकारी दिनुभयो । 

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले बाहिर हिँडडुल गर्न जोखिम भएको, घरबाटै चिकित्सक, स्वास्थ्यकर्मीसंँगपरामर्श गर्ने क्रम बढेकोले बिरामी सिधै अस्पताल आउन कम भएको हुनसक्ने बताउनुभयो । 

गएको ९ दिनमा जिल्लाका सबै अस्पताल र स्वास्थ्य केन्द्रहरुमा ४ हजार भन्दा बढी  बिभिन्न रोगका बिरामीहरु उपचारका लागि आएको जानकारी दिँदै तिवारीले लगभग एक हजार बिरामी ज्वरो र रुघाघोकीका रहेको जानकारी दिनुभयो । 

नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष एवं बरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडाले  बल्झने र फैलने खालका समस्या छन भने रोग लुकाउनु घातक हुने बताउँदै उँहाले टेलिफोनमा बुझेर अस्पताल आउनै पर्नेलाई ढुक्कसँग आउन आग्रह गर्नुभयो । 

दम बढ्दा, अन्य कारणहरुले उच्च ज्वरो आउँदा अस्पताल आउनै पर्ने बताउदै उँहाले ज्वरो कोरोनाका कारण मात्र नभए डेंगु, मलेरिया, स्क्रब टाइफस, हेपाटाइटिस जस्ता कारणले पनि हुने भएकाले नडराइ अस्पताल आउन सुझाव दिनुभयो । 

घरमा नै रोग पालेर बस्ने र अन्तिम अवस्थामा अस्पताल आउँदा उपचार हुन नसकेर ज्यान जान थालेको भन्दै खतिवडाले सबै समयमा नै सजग हुनुपर्ने बताउनुभयो । 

समान्वय ज्वरो रुघाखोकी लागीहालेमा समेत तुरुन्तै चिकित्सकको सल्लाह र अस्पतालमा पुग्नुपर्ने यो समयमा घरमै बसेर रोग लुकाउँदा थप समस्या र जोखिम बढ्ने भएकोले कोरोनको डर र त्रास कम गराउदै सरोकारवालाले अस्पतालमा ढुक्कसंग उपचार हुने वातावरण वनाउन आवश्यक देखिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया