सरुवा रोगका कति चरण हुन्छन् ? कुन चरणमा पुगेपछि महामारीको रुप लिन्छ ?

 चैत २४, २०७६ सोमबार १६:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ-नेपालमा कोरोना भाइरसको सङ्क्रमण शनिबारदेखि दोस्रो चरणमा प्रवेश गरेको भनिन्छ । विदेशबाट आएको कोरोना सङ्क्रमित व्यक्तिबाट सुदूरपश्चिम प्रदेशको धनगढीमा उनको आफ्नै परिवारको सदस्यमा सरेपछि नेपालमा कोरोना सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्न थालिएको हो । सरुवा रोगका कति चरण हुन्छन् ? कुन चरणलाई के भनिन्छ ? नेपाल साँच्चिकै सङ्क्रमणको कुन चरणमा छ ? कुन चरणमा पुगेपछि यो महामारीको रुप लिन्छ ?  

पहिलो चरण

सङ्क्रमणको पहिलो चरणमा सरुवा रोग स्थानीय स्तरमा सर्दैन । यो चरणमासङ्क्रमित व्यक्तिले सङ्क्रमण विदेशबाट लिएर आउँछ । खासगरी पहिलेदेखि सङ्क्रमणको चपेटामा रहेको देशबाट सङ्क्रमित व्यक्ति सङ्क्रमण लिएर आउँछ । विदेशबाट सङ्क्रमण आयातित भएको अवस्थालाई पहिलो चरण भनिन्छ ।

दोस्रो चरण 

दोस्रो चरणलाई स्थानीय सङ्क्रमणको चरण पनि भनिन्छ । विदेशबाट सरुवा  रोगको सङ्क्रमण लिएर आएको व्यक्तिले जब अर्को व्यक्तिमा रोग सार्छ त्यसबेलादेखि दोस्रो चरण सुरु हुन्छ । विदेशबाट आएका व्यक्तिले खासगरी आफ्नै आफन्त र सङ्गीसाथीलाई रोगको सङ्क्रमण सार्छन् । नेपाल भर्खरै कोरोना भाइरस सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । यो चरणमा सङ्क्रमित व्यक्तिहरुलाई पत्ता लगाउन र क्वरेण्टीनमा राख्न सजिलो हुन्छ ।

तेस्रो चरण

विदेशबाट आएका आफन्त र साथीबाट सङ्क्रमण प्राप्त गरेका परिवारका सदस्य र सङ्गीसाथीले जब अन्य व्यक्तिमा सङ्क्रमण फैलाउन थाल्छन् र त्यो सङ्क्रमण जब ठूलो क्षेत्रमा फैलिन्छ त्यस्तो अवस्थालाई तेस्रो चरण भनिन्छ । यसलाई सामुदायिक सङ्क्रमणको चरण पनि भनिन्छ । यो चरणमा सङ्क्रमणको स्रोत पत्ता लगाउन गाह्रो हुन्छ अर्थात दोस्रो चरणमाजस्तो कुन व्यक्तिबाट कुन व्यक्तिमा सङ्क्रमण भयो भन्ने पत्ता लगाउन सजिलो हुँदैन । यो चरणमा विदेश यात्रा नगरेका व्यक्तिहरुको ठूलो जमातमा सङ्क्रमण देखिन्छ । तेस्रो चरणमा सरुवा रोग प्रवेश गरेपछि नियन्त्रण गर्न गाह्रो हुन थाल्छ । 

चौथो चरण

यो सरुवा रोगको सबभन्दा खराब र अन्तिम चरण हो । यो चरणमा पुगेपछि सरुवा रोगले महामारीको रुप लिन्छ । यो चरणमा सरुवा रोगलाई व्यवहारिक रुपमा नियन्त्रण गर्न अत्यन्तै गाह्रो हुन्छ । यो चरणमा सरुवा रोगको सङ्क्रमण धेरै प्रमुख समूहमा देशैभरि फैलिएको हुन्छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया