अबकाे केही हप्ता काेराेना महामारीकाे दृष्टिले चुनाैतीपूर्ण, सबैकाे सहयाेग आवश्यक : प्रधानमन्त्री ओली

 चैत २५, २०७६ मंगलबार १२:४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको जोखिम उच्च रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले जो जहाँ छन्, त्यहीँ बसे सङ्कटलाई टार्ने सकिने पनि बताउनुभयो । अबको दुई हप्ता अझै चुनौतीपूर्ण रहेकाले कोरोना समुदायमा फैलन सक्ने हुँदा विशेष सचेतता अपनाउन उहाँले जाेड दिनुभयाे । 

देशवासीका नाममा सम्बोधन गर्दै उहाँले दैनिक ज्यालादारी गरेर जीविकाेपार्जन गर्नुपर्ने नागरिकलाई समस्या भए पनि नागरिकको जीवन रक्षाका लागि लकडाउनको विकल्प नभएको बताउनुभयो ।

सङ्कटको याे घडीमा एकजुट हुन आग्रह गर्दै उहाँले खोप र औषधि बनिनसकेकाले थप सावधानी अपनाउनुपर्ने अवस्था आएको बताउनुभयो । सङ्कटकाे समयमा सावधानी अपनाउन नसके ठूलो क्षति बेहाेर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सम्बाेधनकै क्रममा अभाव र चुनौतीका बाबजुद पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले गरिरहेको कामको उहाँले प्रशंसा गर्नुभयो । नेपालले चालेका कदम विकसित देशको भन्दा प्रभावकारी भएको पनि उहाँको दाबी छ ।

प्रधानमन्त्री ओलीले यस्तो बेला प्रदेश सरकार र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभएकाे छ । महामारीको दोस्रो चरणमा प्रवेश गरेकाले लकडाउन कष्टकर भए पनि पूर्णरुपमा पालना गर्न उहाँले अनुरोध गर्नुभयो ।

प्रधानमन्त्री ओलीले काेरोनाविरुद्ध लड्न सरकारले तीन सूत्रीय विधि अपनाएको बताउनुभयो । बिरामी ओसारपसारका लागि उपयुक्त व्यवस्था गरिएको भन्दै उहाँले ३० हजार पाँच सय ६६ जनालाई राख्न सकिने गरी क्वरेण्टीन तयार रहेको बताउनुभयो । यस्तै तीन हजार दुई सय ५९ क्षमताको आइसोलेशन शय्या बनाएको र अहिले त्यसमा ५५ जना उपचाररत रहेकाे उहाँकाे भनाइ छ । 

अहिले ९ हजारभन्दा धेरै क्वरेण्टीनमा छन् । उनीहरु सबैको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।

सातै प्रदेशका १० वटा परीक्षण केन्द्रबाट स्वास्थ्य परीक्षण गरिएको र परीक्षण द्रूत गतिमा गरिने पनि प्रधानमन्त्री ओलीले बताउनुभयाे । क्वरेण्टीनमा लापर्वाही गरेर बसे स्वयं व्यक्ति, परिवार र सिङ्गो समाजले महँगो मूल्य चुकाउने बाध्य हुने उहाँको भनाइ छ ।

साथै प्रधानमन्त्री ओलीले दुई हजारभन्दा धेरै नेपाली भारतको क्वरेण्टीनमा रहेकाे र सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न भारतसँग सहकार्य गरिरहेको बताउनुभयो । उहाँले सीमामा अलपत्र परेका दुई हजार एक सय ४७ जना नेपालीलाई भारतकै क्वरेण्टीनमा राखिएको र नेपालमा रहेका सात सय भारतीय नागरिकलाई पनि क्वरेण्टीनमा राखिएकाे उहाँले बताउनुभयो ।

भारतीय क्वरेण्टीनमा रहेकाहरुलाई निश्चित समयपछि स्वास्थ्य परीक्षण गरेर नेपाल ल्याइने प्रधानमन्त्री ओलीको भनाइ छ । यस्तै उहाँले विदेशमा रहेका केही नेपालीको ज्यान गएको भन्दै दुःख व्यक्त गर्नुभयाे ।

उहाँले विदेशमा रहेका नेपाली दूतावास र गैरआवासीय नेपालीसँगै विभिन्न देशका प्रधानमन्त्रीसँग नेपालीहरुका बारेमा जानकारी लिने काम भइरहेको पनि बताउनुभयो । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया