आमाको मृत्यु भएको बहानामा पास लिएर यात्रु ओसार्ने तीन जना पक्राउ

 चैत २५, २०७६ मंगलबार १५:३१:१९ | रासस
unn.prixa.net

काठमाण्डौ – आमाको मृत्यु भएको भन्दै गाडी पास बनाएर यात्रु ओसार्ने तीनजना पक्राउ परेका छन् । 

लकडाउनको समयमा झूटो विवरण पेश गरी सवारी पास बनाएर प्रयोग गरेको पाइएपछि ललितपुरबाट उनीहरु पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा घर भई ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारायण चौधरी, ३० वर्षीय जितेन्द्रप्रसाद चौधरी र त्यही नगरपालिका-५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन् ।

शुभ नारायणले आफ्नो आमाको मृत्यु भएकाले काजक्रिया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा झूटो विवरण पेश गरी सवारी पास लिएको खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उनले चैत २४ र २५ गतेका लागि ३-०८-००५ ख ९१९८ नम्बरको बसको पास लिएर ३० जना यात्रु बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

सरकारले कोभिड-१९ को सङ्क्रमण रोक्न यही चैत ११ गतेदेखि अत्याश्यक काम बाहेक बाहिर ननिस्किन जारी गरेको आदेश आजदेखि तेस्रो हप्तामा प्रवेश गरेको छ । 

यो अवधिमा मानिसको आवतजातलाई रोक्दै अत्यावश्यक कामका लागि मात्र जिल्ला प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयबाट पासको व्यवस्था मिलाइएको थियो । 

महानगरीय प्रहरी कार्यालय काठमाण्डौका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विभिन्न बहाना तथा नक्कली विवरण बनाएर पास लिने तथा नक्कली पास नै बनाएर हिँड्ने गरेको पाइएको र त्यसलाई आजदेखि थप कडाइका साथ अनुगमन थालेको जानकारी दिनुभयो । 

उपत्यकामा नौ हजार ५०० प्रहरी परिचालन गरिएको जानकारी दिँदै उहाँले लकडाउन उल्लङ्घन गर्ने दुईदेखि तीन हजारलाई दैनिक कारबाही गरिरहेको समेत बताउनुभयो ।

 प्रहरीले उपत्यकामा आजमात्रै लकडाउन उल्लङ्घन गर्ने एक हजार ६०० लाई कारबाही गरिसकेको छ । आजसम्म २५ हजारभन्दा बढीलाई कारबाही गरिएको पोखरेलले बताउनुभयो । 

 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया