अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध वैशाख १८ गतेसम्म लम्बियो

 चैत २५, २०७६ मंगलबार १७:३५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । 

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी वैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताउनुभयो । आन्तरीक उडान वैशाख ३ गते सम्म बन्द गरिएको छ ।

बैठकले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा ¥यापिड किट मार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत उहाँले बताउनुभयो । कैलाली, कञ्चनपुर र बाग्लुङ्मा आरडीटीपद्धतीबाट सिघ्र परिक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकले सङ्क्रमणको बढी सम्भावना भएका जिल्लाहरु डोटी, अछाम, जुम्ला लगयातका जिल्लामा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ ।

समितिको बैठकले सबै खालका आपूर्तिहरु र विशेषगरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाइका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्ने निर्णय भएको सचिव विडारीले बताउनुभयो । 

स्वास्थ्य सामग्रीहरुको खरिदको सम्बन्धमा नेपाल सरकारले प्रचलित कानून बमोजिम विशेष परिस्थितिमा अपनाइने कार्यविधिकै आधारमा छोटो र छिटो विधिबाट खरिद गर्ने विषयमा छलफल भएको सचिव विडारीले बताउनुभयो ।

स्वास्थ्य सेवा विभागले प्रकृयागत रुपले खरिद गर्नेृ कामलाई कायम राख्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक स्वास्थ्य सामग्रीको संख्या र किसिम पहिचान गरी नेपाली सेनामार्फत सरकार सरकार (जिटुजी) मार्फत प्रतक्ष खरिद गर्ने प्रकृया अगाडि बढाएर छिटो सामग्री ल्याउने विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो । त्यस्तै विदेशमा रहेका कूटनीतिक नियोगसँग समेत समन्वय गरेर सामान ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

सचिव विडारीले कोभिड १९ को सङ्क्रमणका कारण अर्थतन्त्रमा पार्ने असरका विषयमा राष्ट्रिय योजना आयोगले अध्ययन गरिरहेको जानकारी समेत दिनुभयो ।

बैठकमा लकडाउन कार्यान्वयनका लागि भएका कामहरुको विषयमा समेत समिक्षा भएको थियो । सरकारले लकडाउनको स्थितिको प्रभावमा परेका १ लाख १४ हजार ३ सय १६ जना परिवारलाई राहत वितरण गरेको सचिव विडारीले बताउनुभयो ।

त्यस्तै ३० हजार ५ सय जना व्यक्तिहरु अहिले विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेको समेत उहाँले बताउनुभयो । लकडाउनको अवस्थमा २ हजार ६ सय भन्दा बढी व्यक्तिहरुलाई कारबाही गरी सम्झाएर छाडेको र २ हजार २ सय ३५ सवारी साधनहरुलाई समेत कारबाही गरिएको छ ।

यस्तै कोरोना भाइरस सङ्क्रमणको आशंका लागेकाहरुलाई सेवा दिन देशैभर १ हजार ९ सय ३९ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गरिएको जानकारी समेत सचिव विडारीले गराउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया