लकडाउन उल्लङ्घन गर्ने ६ सय ९४ गाडी नियन्त्रणमा

 चैत २५, २०७६ मंगलबार २०:५७:८ | उज्यालो सहकर्मी

काठमाण्डौ - लकडाउनको अवज्ञा गर्ने ६ सय ९४ ओटा गाडीलाई आज काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनुमति नलिइ आफूखुशी चलाएका ६ सय ३८ ओटा दुई पांग्रे र ५६ ओटा चार पांग्रे गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा चैत्र ११ गतेदेखि लकडाउन उल्लङ्घन गर्ने ५ हजार १ सय ९१ वटा गाडी नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ । 


लकडाउनको अवधिमा अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन समेत प्रतिबन्ध लगाइएको छ । यो अवस्थामा काठमाण्डौ उपत्यकका विभिन्न ठाउँमा आज मात्रै लकडाउन उल्लङ्घन गर्ने १ हजार ८ सयभन्दा बढी पैदलयात्रीलाई महानगरीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

केही समय राखेर सम्झाई बुझाई गरी उनीहरुलाई छोडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १ सय ५५  र रातमा ४५ ठाउँमा चेकप्वाइन्ट राखेर गाडीहरू जाँच गरिरहेको छ । ट्राफिक प्रहरीले मुख्य सडक बाहेक भित्री क्षेत्रमा मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया