छैन प्रहरीलाई मास्क र पञ्जा

 चैत २६, २०७६ बुधबार ११:०:१३ | रासस
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुमा जनताको सुरक्षाका लागि अहोरात्र परिचालित प्रहरीहरु आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन् ।

लकडाउनका समयमा सिमानाको सुरक्षामा खटिनेदेखि चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर कडाइ गरिए पनि तिनले आवश्यक मात्रामा सुरक्षाका सामग्री पाउन सकेका छैनन् । अधिकांश प्रहरीको हातमा पञ्जा छैन भने कतिपयले  मास्क (मुखावरण) समेत पाएका छैनन् । 

अहिले प्रहरी र स्वास्थ्यकर्मी नै कोरोना भाइरसविरुद्ध सबैभन्दा बढी खटिएका छन् । जनतालाई सुरक्षा दिने सुरक्षाकर्मीमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभाव खड्किएको छ । कपिलवस्तु प्रहरीले आफ्नै स्रोतबाट स्वास्थ्य सामग्री जुटाइ सुरक्षा प्रबन्ध मिलाउँदै आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) दीपशम्शेर जबरा बताउनुहुन्छ ।

कपिलवस्तुमा झण्डै आठ सय सुरक्षाकर्मीमध्ये आधा सुरक्षाकर्मी क्वरेण्टीनकाे सुरक्षामा खटिएका छन् । प्रहरी उपरीक्षक जबराले भन्नुभयो, ‘सङ्क्रमणको चिन्ता हामीलाई पनि छ तर असुरक्षित भए पनि निर्देशन अनुसार खट्नुपरेको छ ।’  

कपिलवस्तुमा जस्तै समस्या रुपन्देही जिल्लामा पनि देखिएको छ । रुपन्देहीमा प्रहरीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नहुँदा काममा समस्या भएको छ । सामग्रीको पर्खाइमा रहेको बताउँदै केही सामग्री आफ्नै स्रोत साधनले व्यवस्थापन गरिएको रुपन्देहीका एसपी हेमकुमार थापाले जानकारी दिनुभयो । समयमै कतैबाट सुरक्षा सामग्री उपलब्ध भए निर्धक्कका साथ सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने दृढता उहाँले व्यक्त गर्नुभयो । 

उहाँका अनुसार ६० किलोमिटर रुपन्देहीको सीमालाई बन्द गरिएको छ । रुपन्देहीका सीमा नाका भारतीय गाउँमा केही सङ्क्रमित भेटिएसँंगै सुरक्षालाई थप कडाइका साथ अघि बढाइएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया