प्रदेश १ ले कोरोना उपचारमा संलग्न व्यक्तिको ज्यान गएमा परिवारलाई ५० लाख दिने

 चैत २६, २०७६ बुधबार ११:४८:५ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश १ सरकारले कोरोना सङ्क्रमितको उपचारमा खटिँदा कसैले ज्यान गुमाएमा ज्यान गुमाउनेको परिवारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । 

कोरोनाबाट सङ्क्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाउने स्वास्थ्यकर्मीसहित कर्मचारीका परिवारलाई ५० लाख रुपैयाँ प्रदान गर्ने प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ ।

कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचारमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएका ५० लाख रुपैयाँ प्रदान गर्नेे निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।

प्रदेश १ मा अहिलेसम्म कोरोना सङ्क्रमण देखिएको छैन । मङ्गलबारसम्म प्रदेशका ९० जनाको स्वाब सङ्कलन गरिएको छ भने ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

बाँकी ५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश सरकारले जनाएको छ । अहिले प्रदेशमा ९ जना आइसोलेसनमा छन् भने ६ सय १३ जना क्वरेण्टीनमा छन् । त्यस्तै २ हजार ८ सय ८५ जना होम क्वरेण्टीनमा छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया