बझाङमा लकडाउन उल्लङ्घन गर्दै मेला सञ्चालन गरेको आरोपमा जनप्रतिनिधि र पुजारीसहित ९ जना पक्राउ

 चैत २६, २०७६ बुधबार २०:३५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ - बझाङको प्रसिद्ध छबिसपाथिभेरा गाँउपालिकामा लाग्ने धार्मिक मेला बान्नीकी चैतली सञ्चालन गरेको आरोपमा त्यहाँँका जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारीहरु सहित ९ जना पक्राउ परेका छन् ।

कोरोना भाइरस कोभिड १९ को महामारी फैलिन नदिन लकडाउन भए पनि त्यहाँका स्थानीय बासिन्दाले लडकडाउन  उल्लङ्घन गरेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्रबहादुर बोहराले बताउनुभयो ।

पक्राउ पर्नेमा छबिसपाथिभेरा गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडाध्यक्ष केशब राज जोशी, वडा नम्बर ४ का वडाध्यक्ष अम्मरराज थापा र वडा नम्बर ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्ना रहेका छन् ।

जनप्रतिनिधिसँगै बान्नी मष्टा मन्दिरका पुजारी  निर्पप्रसाद जोशी र उनका दुईजना सहयोगी पण्डित डम्बरबहादुर धामी र पुजारी जयकृष्ण जोशी पनि पक्राउ परेका छन् ।  

उनीहरुसँगै स्थानीय ईन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । सुदूरपश्चिमको प्रसिद्ध मेलामा बान्नीकी चैतलीमा हजारौं श्रद्धालु तथा दर्शनार्थीहरु भेला हुने गर्छन् ।

तर कोरोना भाइरसको जोखिम बढेकाले यासपालि धार्मिक तथा सामाजिक काम नगर्न र लकडाउनको पूर्ण पालना गर्न पटक पटक आग्रह गर्दै आएको छ ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया