सुनसान चिडियाखाना : मान्छे नदेख्दा कुनै जनावर दंग, कुनै निराश (फोटो फिचर)

 चैत २८, २०७६ शुक्रबार १२:१५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अरु बेला दिनहुँ झण्डै तीन हजार जना अवलोकनका लागि पुग्ने सदर चिडियाखाना अहिले सुनसान छ ।

कोरोना सङ्क्रमणपछि गरिएको लकडाउनको असर चिडियाखानामा पनि परेको छ । लकडाउनको शुक्रबार १८ औं दिन हो ।  तर चिडियाखाना बन्द भएको भने २२ दिन भैसकेको छ । सरकारले जमघट, भेला, भिडभाड गर्न रोक लगाएपछि चिडियाखाना गएको चैत्र ७ गतेदेखि नै बन्द भएको हो ।

त्यसपछि सरकारले ११ गतेदेखि लकडाउनको घोषणा गरेको हो । लकडाउनपछि आम नागरिक घरमै बस्नुपरेको छ । तर चिडियाखानामा रहेका १ सय १२ प्रजातिका एक हजारभन्दा बढी वन्यजन्तु भने सधै ‘लकडाउन’मा छन् ।

आफैँ ‘लकडाउन’मा रहेका ती वन्यजन्तुमध्ये अहिले थोरै मात्रै रमाएका देखिन्छन् भने धेरै निराश रहेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको चिडियाखानाका प्रमुख डाक्टर चिरञ्जिवीप्रसाद पोखरेलका अनुसार अहिले चहलपहल नहुँदा केहि जनावरले रमाइलो मानेका छन् भने धेरैमा आलस्यता देखिएको छ ।

उहाँका अनुसार सानो बिरालो प्रजातिले रमाइलो मानेको तर वनमान्छे, बाँदर, चराचुरुङ्गी लगायत निराश रहेका अवलोकनपछि पाइएको छ ।

बाघ र भालुमा भने चहलपहल हुँदा र नहुँदाको समयमा त्यति धेरै फरक भेटिएको छैन । उहाँले भन्नुभयो,‘अहिले मान्छे छिर्दा धेरैजसो जनावर खुसी भएर आउने गरेका छन्, उनीहरुले बोर फिलिङ्ग गरेको सहजै अनुमान गर्न सकिन्छ ।’

सबै जनावरको व्यवहार परिवर्तनबारे अहिले नै भन्न नसकिने चिडियाखानाका प्रमुख पोखरेलले बताउनुभयो ।

‘सानो बिरालो प्रजातिभिडभाड हुने बेला खोरभित्रै बस्ने गरेकोमा अहिले भने खोरको वरिपरी घुमफिर गरेको भेटिन्छ,‘उहाँले भन्नुभयो,‘अरु धेरैजसो जनावर मान्छे नदेख्दा निराश छन्, अरु बेला जस्तो क्रियाशील छैनन्, आलस्यता देखिन्छ । उनीहरुमा मान्छेसँग रमाउने अभ्यास भैसकेको रहेछ ।’

(फोटौ सौजन्य : डा. चिरञ्जिवीप्रसाद पोखरेल, चिडियाखानाका प्रमुख​)

 

अन्तिम अपडेट: चैत ३०, २०८०

1 Comments

  • Kamala

    April 10, 2020, 2:19 p.m.

    Thank you very much for the report on zoo animals. I was so much wonder. People are just talk about Corona not about these animals. Are they feeding on regular base as before.

  •  0 Reply

तपाईको प्रतिक्रिया