राजमार्गमा लकडाउनको पूर्ण पालना

 चैत २७, २०७६ बिहिबार २०:०:५३ | उज्यालो सहकर्मी

 धादिङ - काठमाण्डौको नागढुंगादेखि चितवनको मुग्लिङसम्मको पृथ्वी राजमार्ग सडक खण्डमा लकडाउनको पूर्ण पालना भएको पाइएको छ । 

काठमाण्डौमा दैनिक हजारौंको संख्यामा लकडाउन उल्लङ्घन गर्नेहरु पक्राउ परिरहँदा पृथ्वी राजमार्ग भने सुनसान देखिन्छ । सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन्। त्यस्तै मानिसहरु पनि हिंडडुल गरेको देखिँदैन।

सडकमा अत्यावस्यक सामग्री ढुवानी गर्ने साधनहरु बाहेक अन्य कुनैपनि साधानहरु देखिँदैनन्  । एलपी ग्यास बुलेट गाडीहरु फ्याट्टफुट्ट देख्न सकिन्छ । त्यस्तै खाद्यान्न, तरकारी बोकेका ढुवानीका साधनहरु सहजै सञ्चालनमा आएका छन् ।

अत्यन्त व्यस्त रहने नौबिसे, धादिङ, मलेखु, लगायतका बजार सुनसान छन् । राजमार्गमा रहेका होटल व्यवसायहरु पूर्ण रुपमा बन्द छन् । यस्तै पसलहरु पनि बन्द छन् । सामाजिक दुरी कायम गर्दै प्रहरीले ठाउँठाउँमा सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ । सामान्य अवस्थामा निकै व्यस्त रहने मनकामना केबलकार पनि बन्द छ ।

लकडाउन सुरु भएदेखिनै केबलकार बन्द रहेको छ । निकै व्यस्त रहने मुग्लिङ बजार पनि पूर्ण रुपमा बन्द रहेको छ । मुग्लिनमा सञ्चालित कुनैपनि होटल पसल तथा विभिन्न सेवा कार्यालयहरु खुुलेका छैनन् । राजमार्गमा ठाउँठाउँमा अस्थाई स्वास्थ्य शिविर स्थापना गरिएको छ ।

अत्यावश्यक सवारी साधन र ढुवानीका साधनमा यात्रा गर्ने व्यक्तिहरुलाई जाँच गर्ने कार्यलाई प्रहरीले कडाइ गरेको छ । मुग्लिङदेखि पोखरा जाने सडकखण्ड पनि सुनसान छ । तनहुँको डुम्रेमा पनि लकडाउनको पूर्ण पालना भएको देखिन्छ ।

सबै पसलहरु पूर्ण रुपमा बन्द भएका छन् । यस्तै अत्यावश्यक वस्तुहरु बिक्री हुने पसलअगाडि समाजिक दुरी कायम गर्न लगाइएका चिन्हहरु देख्न सकिन्छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया