महाभारतको नारायणास्त्र र कोरोनाको क्वरेण्टीन

 चैत २८, २०७६ शुक्रबार ९:३७:२९ | गोपाल गुरागाईं
unn.prixa.net

महाभारत युद्धकाे १६ औँ दिन पाण्डव सेनामाथि अस्वस्थामाले नारायणास्त्र प्रहार गरे । पाण्डव सेनाले अघिल्लो दिन कौरव सेनाका सेनापति द्रोणाचार्यलाई निहत्था बनाएर मारेको थियो ।

युधिष्ठिरले समेत “अस्वस्थामा हतोहत” भन्दै आफ्नो मृत्युको खबर सुनाएर पिता द्रोणाचार्यको हत्या गरेपछि उनका छोरा अस्वस्थामा रिसले चुर भए । पाण्डव पक्षलाई सिध्याउन अस्वस्थामा ऋषिले यसअघि कसैले नदेखेको र नजानेको नारायणास्त्र चलाउने प्रण गरे । नारायणास्त्र चल्न थालेपछि महाभारत युद्धमा भयङ्कर हाहाकार मच्चियो । अस्वस्थामाले जे सोच्थे, उनको हातमा त्यस्तै हतियार आउँथे ।

हातबाट छुट्नासाथ ती हतियार आँखाले देख्न नपाउँदै हजारौँको सङ्ख्यामा फैलिन्थे । अनि चारै दिशाबाट पाण्डव सेनालाई आक्रमण गर्थे । आकाशमा एकाएक हजारौँ सर्पको मुख जस्ता वाण देखिन्थे, वाणको तीरमा विष  र आगो हुन्थ्यो, ती वाण पाण्डव सेनामाथि जाई लाग्थे । पाण्डव सेनामाथि घरि आकाशबाट ढुङ्गा बर्सिन्थ्याे, घरि टाउकामाथि फलामे चुच्चा भएका चराले ठुङ्थे र लखेट्थे । युद्ध मैदानमा घरि आगोको मुस्लो उठ्थ्यो । नारायणास्त्रले युद्धमा उपद्रो थेग्न सक्ने हैसियत पाण्डव सेनासित थिएन । युद्धमा निस्केको त्यो अस्त्र सबै शत्रु नमारि नफर्किने खालको थियो । पाण्डव सेनाको कसैले पनि नारायणास्त्रबाट बच्ने उपाय जानेको थिएन । त्यो अस्त्र रोक्ने अर्को अस्त्र र ज्ञान पनि पाण्डवसित थिएन । 

त्यो अस्त्रको प्रतिकार गर्दा युधिष्ठिरका भाइ तथा अर्जुनका दाजु भीमसेन, गदा र रथ सहितै आगोको मुस्लोमा जल्न थाले । सैनिकहरुको भागाभाग हुन थाल्यो । त्यसपछि कृष्णले रथ बिसाए । अर्जुनलाई रथबाट उत्रिन लगाए । कृष्ण र अर्जुन रथबाट झरेपछि अर्जुनले आफ्ना हतियार भुइँमा राखे । कृष्णले भीमसेनलाई रथबाट तानेर भुइँमा झारे, हतियार भुइँमा राख्न लगाए ।

त्यसपछि हातले इसारा गरेर पाण्डव पक्षका सबै सेनालाई रथ र हात्तीबाट उत्रिन लगाए । हतियार बिसाउन लगाए । र, नारायणास्त्र शान्त नहुञ्जेल सबैलाई हात जाेडेर भुइँमा बसाए । युद्धमा निस्केको नारायणास्त्र शान्त पार्न रथबाट उत्रिनुपर्छ, हातका हतियार थन्क्याउनुपर्छ र शान्त भइ बस्नुपर्छ भन्ने ज्ञान अर्जुनका सारथी कृष्णसित मात्रै थियो । कृष्णको आदेशमा पाण्डव सेनाले नारायणास्त्र शान्त नहुञ्जेल हतियार समाएन, रथमा चढेन र धैर्य गरेर बस्यो । 

अहिलेको कोरोना महामारी पनि त्यो नारायणास्त्र जस्तै हो । त्यो आकाशबाट पनि आउँछ, जमिनबाट पनि आउँछ, आफन्त र पराई जसबाट पनि एक अर्कामा सर्छ । यसको औषधि छैन, तर शान्त भएर घरमा बस्यो भने कोरोनाको महामारी पनि फैलिन पाउँदैन । नारायणास्त्र चल्दा हतियार बिसाएर शान्त बसि ज्यान जोगाएको दुई दिनपछि पाण्डव सेनाले महाभारतको युद्ध जित्यो । दुई साता क्वरेण्टीनमा बस्दा हामी पनि अवश्य कोरोनाको महामारीबाट जोगिन्छौँ । 

यो कथा कोरोना क्याप्सुलको एउटा डोज मात्रै हो, पुरै क्याप्सुल सुन्न यहाँ क्लिक गर्नुहोस् । 

अथवा,

 

अन्तिम अपडेट: चैत १५, २०८०

गोपाल गुरागाईं

गोपाल गुरागाईं  चार दशकदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया